BTemplates.com

Powered by Blogger.

Followers

Search This Blog

Facebook

Please like in Facebook Page

Pages

BB

Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

Sunday, January 17, 2021

मेरो मनको गुनगुन तिमी


  




पारी छितिजमा जब जब जुनको  मधुमय सुसेली देख्छु तब तब  तिम्रो यादको चुस्किले एकपल बेचैनी बनाइदिन्छ  यो मन। फेरि म त्यही कल्पनाको सागरमा  सयर गर्छु  जहाँ हामीले हाम्रो सपनाहरू साटेका हुन्छौ , जहाँ मायाको अथाह भुमरीमा हामी डुबुल्की मारेका हुन्छौ   अनि  सधैसधैका लागि दुइ मुटु एकै बनाएका हुन्छौ   । त्यहि पलमा जीवन रंगिन देखेका छौ अनि अनन्त सम्मका सपनाहरु साथ साथमा बुनेका छौ। हो त्यसैले त तिमी मेरो मनको गुनगुन हौ, कहिले पनि अन्त नहुने  अनन्तसम्मको प्यास हौ तिमी।  


तिमीबिनाको पलमा म शुन्य हुन्छु, तिम्रो सम्झना बिनाको जीवनमा म आफै खल्लो हुन्छु किनकी  तिमी नै जीवनको एक शुन्दर बगैचा हौ जहाँ म रम्न सक्छु।  तिमी नै मेरो निम्ति  मायाको बिशाल सागर हौ त्यसैभित्र डुबेर जीवनमा हास्न सक्छु।  म तिम्रो मनको हरेक प्यालामा  हुन्छु, म तिम्रो मनको हरेक संगीतमा हुन्छु त्यसैले त यी  छहरामा संधै नाचीरहन मन छ , त्यहि पहरामा तिमी संगै प्रिती साटीरहन मन छ । आहा जीवन कसैको होस् त हाम्रो जस्तो जहाँ केवल हासोको पल होस्, जीवनमा पूर्णताको आभास होस अनि जिउनुको अर्थ होस्। 


मलाई  जुनको  मुस्कान जस्तो  तिम्रो यौवन चाहिन्छ,मलाई तिम्रो माया  जस्तो  हरेक बिहान चाहिन्छ किनकी   त्यसैले त म  तिम्रो चोखो पिरतीमा डुब्न सक्छु , तिम्रो मुटु  संग मेरो   मुटु साट्नु सक्छु । हासोको हरेक पलहरुमा तिम्रो चेहराको आभास  हुन्छ, मायाको हरेक नामहरुमा तिम्रो नै त्यहाँ  उपस्थिति हुन्छ। त्यसैले त यस बिशाल संसारमा  दुइ अलग लिङ्गको उपस्थित रहेछ,  जीवनमा तिम्रो मेरो कथाको सार जस्तै, दुइ  अलग जीव  तर एकै मन र मुटु।  जुनसंगै हासिदिने पलहरु, भावानासंगै रमाइदिने क्षणहरु केवल यसैको सिर्जना हो, तिम्रो मेरो मनको मिठा मिठा बातहरु। 


जगतमा हजारौले आशुको पिडा भोगिरहंदा पनि हामी भने  केवल हासोको मोल गरिरहेका छौ किनकी हामीलाई यो सुन्दर जीवन पूर्ण बनाउनु छ, मर्ने एउटा कारण होलान्, बाच्ने हाम्रो हजार रहर छन्, रुने त एउटा  कारण होलान् , हास्ने हाजारौ बहाना छन्।  त्यसैले हामी हासिरहन पाउ, यसैगरी बाचिरहन पाउ ।  जबसम्म यो धर्तीमा यो सास रहन्छ तबसम्मका लागि आशाका दियो बालिरहन पाउ।   यहि संधै कामना गरौ जीवनमा तिमी र मेरो सानो प्रयासले संधै  यो धर्ति सुन्दर बनाइरहन पाउ, अनि त्यही भावनाको डुंगामा हामी दुइ सयर गरिरहन पाउ। 


अजम्बरी अबश्य कोहि हुन्नन् यहाँ तर प्रत्येक दिन कसै न कसैको मृत्युको खबरले मुटु नराम्ररी झस्किन्छ, मन नराम्ररी कटकिन्छ ।  त्यो दिन सम्म रहूला या त नरहुला तर हाम्रो यो सुन्दर पलहरु, मिठो सपनाहरु संधै बाचिरहोस।  मान्छे एकदिन धर्तीबाट टाढा गए पनि यो कल्पनाका सुन्दर स्वरुप, स्वर्णिम फूलका गुच्छाहरु संधै यहि धर्तीमा यो पिरतीको मिठो सुगन्ध छरेर बाचिरहोस।  हामी यस धर्तिको एउटा सानो कण हौ जो जहिले पनि जुनसुकै समयमा बिलाउन सक्छौ, तर यो पबित्र मनहरु संधै बाचिरहोस त्यसरी नै जसरी हामी हो जीवनमा हाम्रो मायाको अमुल्य पलसंग रुमलिएर बाचिरहेका छौ। भोलिको सुन्दर पललाई भावनामा साचेर हासीरहेका छौ।  यति सुन्दर कल्पनाहरु संधै अमर रहोस, संधै फुलिरहोस अनि त्यसै गरि हाम्रो त्यो पिरती पनि संधै फुल जस्तै हासिरहोस। 



Indira Chongbang


01/17/2021




Saturday, December 19, 2020

मान्छे बिनाको मान्छे म ( एक परित्यत्ता को कथा )





हजारौ मान्छेकोभिडको शहर हो न्युयोर्क शहर, मान्छे मान्छेको भिडमा म हु एक परित्यक्ता।  बिना मान्छेको एक मान्छे म।  हो, हजारौ भिडमा पनि म हराइरहेकी छु, केवल आफ्नै संसारमा, आफ्नै दुनियाँमा  अनि आफ्नै रोजाइको जीवनमा।  जिन्दगी जसरी बाच्यो त्यसरी नै बाँचिने  रहेछ, जसरी भोगियो त्यस्तै भोगिने रहेछ।  जन्मदा एक्लै जन्मिए,  अबस्य पनि एक्लै मर्नु छ एकदिन।  तैपनि जन्मपछिका आफन्त र परिवारका साथहरुले  संधै एउटा हलचल बनाउदो रहेछ।  कसैको साथले, परिवारको साथले अनि साथीसंगीको साथले जीवन रंगिन बन्दो रहेछ। 


हो त्यसैले त यो सात समुद्र पारीको देशमा आफ्नै खुसीको संसारमा बांचिरहंदा मलाई त्यहि बालापनको यादहरूले साताउछ जहाँ भाइ, बहिनि, दिदी, आमाबाबा लगायतका सदस्यहरू संगै बसेर खाएको, संगै हासेको, सामुहिक उदेश्यको लागि बाचेको जीवन।  मेरो पनि यो रहर त होइन यो बिरानो भूमिमा एक्लै बाच्ने। जिन्दगीले जता डोर्यायो त्यतै डोरिनु पर्दो रहेछ, नचाहँदा नचाहँदै एक्लै पनि रमाउनु पर्दो रहेछ।  कसको रहर हुन्न जिन्दगिलाइ हराभरा बनाउने, कसको चाहना हुन्न जीवनमा संधै साथ् दिने, माया दिने कोहि होस् सदाको लागि।  तर रहर र चाहनाले मात्र जिन्दगि कहाँ बन्दो रहेछ यो त जता बहन्छ आफ्नै तालमा अनि आफ्नै सुरमा बहँदो रहेछ। 


लगभग आधा जिन्दगी  त यसरी बिताए वाकी जिन्दगी  पनि यसैगरी बिताउन सक्छु , आफ्नो खुसीको लागि आफै हास्न सक्छु, आफ्नो आबश्यकताको लागि आफै कर्म गर्न सक्छु।  जिन्दगी  जे छ त्यसैमा गर्ब गर्छु, त्यसैमा आफुलाई पूर्ण देख्छु।  तर जबजब कहिले काही यो शरीरमा कुनै पिडा आउछ त्यहि बेला कसैको सम्झना एकदमै आउछ, सायद उ मेरो साथमा भएको भए, कम्तिमा तातो पानि दिउ, तिमीलाई भोक लाग्यो होला हगि, आज संच भएन होला हो  ?  आदि आदि प्रश्न हरु मेरो निम्ति हुन्थ्यो होला।  हो मेरो कल्पनाको साथी, भावनाको साथि मेरो साथमा भएको भए कम्तिमा म एक्लो हुँदाको यो अशक्त अवस्थामा यिनै प्रश्नहरूले पनि कम्तिमा सहानुभूति मिल्थ्यो होला ? कम्तिमा म एक्लो भएको बेला एक शब्द मात्र बोलेको भए पनि मलाई कति ठुलो साहास आउथ्यो होला हगि?


हो हिजो आज जीवनको यो आधा बसन्तको संघारमा यिनै प्रश्नहरु संग बाचिरहेकी छु। रहर र चाहना अनुसारको जिन्दगी  भईदिएको भए सायद अहिले सम्म मेरो पनि जीवनमा मलाई संधै माया गर्ने कुनै जीवन साथी हुन्थे होलान्, आमा भन्ने मायालु भाकाहरु हुर्कंदै हुन्थे होला।  तर सब त्यो त कल्पनाको एउटा सानो बिम्ब मात्र बन्यो मेरो जीवनमा किनकि मलाई कसै संग माया प्रिती गास्ने न त अवसर नै मिल्यो न त कुनै भने जस्तै सपनाको राजकुमार नै मिल्यो।  ओहो मेरो जीवनमा कोहि नआएको भने अवस्य होइन तर खोइ किन मैले भने जस्तो, सोचे जस्तो मच्न्छे भने आएको होइन।  कोहि आयो एकदम घमण्डी, कोहि आयो झुट बोल्ने, कोहि एकदमै माया गर्ने पनि आए तर आफुलाई आफ्नै जातको चाहिने विजातको मान्छे।  वास्तबमा किन हो किन  मान्छे हरु आएर पनि गए तर पनि म सदा मान्छे बिनाको एक्लो मान्छे संधै एक्लो अनि आफु, आफ्नै संसारमा बाचिरहे। 


बिहे गर्नेको परिवार पनि त्यति शान्ति र सुखी चाहि देख्दिन म।  कोहि कोहि फेसबुकभरि माया प्रीतिको फोटो राख्छन् तर थाहा छ मलाई उनीहरु वास्तविक जीवन कसरि बाचेका छन्।  मलाई मेरा कतिपय साथीहरुको बैबाहिक जीवन देखेर त ठिट लाग्छ, जो जीवनलाई पूर्ण ठान्छन् खालि समाजलाई देखाउनलाई।  आफुलाई श्रीमान र श्रीमतीको संज्ञा दिन्छन् मान्छे र समाजलाई देखाउनलाइ।  यसरि अरुलाई देखाउनको लागि नै सम्झौता चाहि किन गर्नु पर्ने, आफु खुसि नभई नभई अरुको निम्ति किन बाच्नु  पर्ने, तिनीहरुको जीवन भन्दा त् हजारौ गुणा मेरो जीवन नै रमाइलो लाग्छ, घमाइलो लाग्छ।  कतिपय साथीहरु खुलेर आफ्नो मनको कुरा भन्छन्, केटा मान्छेले आफ्नो श्रीमतीलाई कस्तो ब्यबहार गर्छन् उनीहरुको भनाइ बाट पनि प्रस्ट हुन्छ।  सायद जीवनमा मैले गरेको निर्णय यहि अर्थमा सत्य लाग्छ मलाई कसैले किन काम वाट ढिलो आइस भनेर सोध्ने छैन, बिदाको दिनमा किन यति धेरै सुतिस भनेर प्रश्न शोधने कोहि छैन। 


यसरी आफ्नो स्वतन्त्र जीवन बाच्ने आदत परेपछि मलाई कसै संग सम्झौता गर्दाको जीवन आफुलाई आफै अन्याय गरे जस्तै लाग्छ। मेरी एकजना साथीको श्रीमान मलाई एकदमै स्तर्बन लाग्छ।  हरेक कुरा उसकै माथि हुनु पर्ने, उसले गरेको सबै काम राम्रो अरुले जे गरे पनि नराम्रो ।  मेरो साथी जस्तो सुकै पिडामा पनि फिस्व बनावटी हासो हास्छिन् बनावटी यो अर्थमा भन्दै छु, उनि आफ्नो परवारको खुसीको लागि जे पनि गर्छिन्, आफ्नो श्रीमानलाई खुसि राख्नका  लागि आफिसवाट पनि दौडदै घर आउछिन तर पनि उनको श्रीमान्को प्रशंसा कहिले सुनेको छैन मैले।  यस्तै सम्बन्ध देख्दा लाग्छ मलाई गलत साथीसंग हिंड्नु भन्दा एक्लो जीवन नै हजार गुणा सहि छ। 


जीवन कुन अर्थमा सहि कुन अर्थमा गलत त्यो सबैको भरमा छ।  जस्तो सुकै अर्थमा जीवन जिए पनि जहाँ खुसि मिल्छ, जहाँ शान्ति मिल्छ त्यहि नै जीवन जिउनुको सहि अर्थ भन्ने लाग्छ।  म एक्लै छु त के भो म आफै खुसि छु।  भन्नेले भन्दा हुन घमण्डी भयो, केटा पाएन आदि आदि तर मैले मेरो जीवन अरुको लागि, समाजको लागि अनि मान्छेको लागि बाचेको अवस्य होइन।  म एक्लो छु, आफै खुसि छु, आफै सुखी छु अनि आफै स्वतन्त्र छु।  तर पनि कहिलेकाही यो एक्लोपनले नराम्ररी निमोत्छ, नराम्रोसंग पिरोल्छ, अनि जिस्काउछ आफैलाई आफै संग। 


हो कतिपय पारिवारिक जीवनमा सुखी होलान्, कति जना एक्लो जीवनमै सुखी होलान्, खुसि होलान्।  मान्छेले यो राम्रो, यो नराम्रो भनेर जसलाई एउटा जज गर्छ नि त्यो भने सारै मन पर्दैन।  म किन सिंगल भए अर्थात् परिवार बनाइन त्यो मेरो कुरो हो तर समाजले, मान्छेले औला ठड्याएको पटक्कै मन पर्दैन मलाई। त्यसैले भन्न्छु म बाच्ने सबैको आ आफ्नो तरिका हो , इच्छा हो अनि चाहाना हो।  कसरी  मन पर्छ त्यसरी नै जिउनु पर्छ, यसो हुनु पर्ने ,त्यसो हुनु पर्ने भनेर अर्कालाई भन्नु भन्दा मेरो के हुनु पर्ने हो त्यसै माथि बिचारेको राम्रो। 


म हु एक परित्यक्ता यस अर्थमा कि न त मलाई समाजले, मान्छेले यो भन्ला, त्यो भन्ला भन्ने कुरोमा डर छ न त जीवन अरुको लागि जिउनु नै छ 

मेरो जीवन हो, मलाई नै थाहा छ म कसरी बाच्न सक्छु, कसरी हास्न सक्छु अनि जिउन सक्छु।  म हजारौ मान्छेको भिडमा पनि एक्लै बाच्न सक्छु, एक्लै जिउन सक्छु, मलाई देखेर नहासे हुन्छ बरु तिम्रो आफ्नो काम गरे राम्रो किनकी म तिम्रो कुराले अलिकति पनि झुक्ने छैन। 


समाप्त 


Written by Indira Chongbang'

12/19/2020





Friday, December 4, 2020

तिमी मेरो मनको साथी


 




जिन्दगी हराभरा बन्नका  लागि जसरी बाच्नको लागि आधारभूत चिजहरुको आवश्यक पर्छ  त्यसरी नै अनेक साथहरूको आवश्यक पर्दो  रहेछ।  मेरो जीवन एउटा शुन्दर त थियो तर तिम्रो साथले रंगिन बनेको छ ।  तिमी यस्तो हौ बसन्तको आवागमनमा नयाँ पालुवा पाएको बिरुवा जस्तै, धर्तिको स्वर्णिम साथमा  मुस्काएको जुन जस्तै अनि सिमसिम बर्षामा  देखिने रंगिन इन्द्रेणीको मोह जस्तै। किनकि तिमी मेरो मनको साथि, दिलको साथि अनि सबै भन्दा नजिकको साथी।  तिमी छौ र जीवनमा मज्जा छ, हसाइमा दम छ, बाच्नुमा अर्थ छ। 


हो तिमी मेरो साथि, तिमी संधै माथि छौ।  तिम्रो  हर साथ सुन्दर छ, शान्त छ अनि बिशाल छ। तिमी यति शान्त छौ, शितल छौ भन्छन्  नि मान्छेहरु फलाना त आँखामा राखे पनि नभिझाउने, हो तिमी त्यहि हौ।  धर्तिको एक शुन्दर सिर्जना, सबैलाई माया गर्न सक्ने एक प्रेमी, एक साथी, एक अबिभाबक जे पनि,  जति ब्याख्या गरे पनि तिम्रो साथको बर्णन गर्न ग्राह्रै हुन्छ मलाई।  जो हौ तिमी मायाको खानि हौ, एक अद्भुत शक्ति हौ जसले कसैको आँखामा संधै हासो छाएको देख्न चाहन्छ, जो संधै अरुलाई रमाएको देख्न चाहन्छ। 



बिहान बिउझियेर जब भगवानलाई धन्यवाद दिन्छु, प्रथम श्रेय तिमी हुन्छौ। आभारी छु जीवनमा तिम्रो साथको लागि, फुरुंग फुर्किन्छु, मसक्क मस्किन्छु अनि आफैलाई आफै सोधिरहन्छु किन फ़ुर्किञ्छौ यति धेरै ? किन हर्स बिभोरले उम्लिन खोज्छौ ? तिमीलाई उत्तर  हुन्छ मेरो किनकि मेरो मनको साथी पाएर, सबै भन्दा संसारमा नजिकको मान्छे पाएर जसले संधै  दुखमा पर्दा मलम लगाउने, खुसि हुँदा हास्न सगाउने, रुनु मन लाग्दा संगै रोइदिने ।  कोहि कसैको साथ् होला त यस्तो ? आफै प्रश्न पनि सोधिरहन्छु । 



तिम्रो साथले त हो यो मनमा एतिका खुसीका प्यालाहरु फ़ुरेका , तिम्रो कोमल भावनाले त हो यो धर्तीमा तिमी जस्तै सच्छा साथी पनि हुन्छन भन्ने अवगत गराएको नत्र मैले त यो दुनियाँ र समाजलाई अर्कै आँखाले हेर्न थालिसकेको थिए।  यो समाज नै नौलो लाग्थ्यो, यो संसार स्वार्थी लाग्थ्यो किनकि मलाई यो आकाश, यो हावामा बहने सबै सासहरु तिनै  स्वार्थी मान्छेबाट निस्किएको  सास उडिरहेको भान हुन्थ्यो मलाई।  तर जब तिमी मेरो जीवनमा आयौ नि त्यसपछि मेरो त्यो हेराइ, त्यो सोचाई सबका सब परिवर्तन भएका छन्। मैले देख्ने आँखाहरु परिवर्तन भएका छन् ।  हेर्ने मनहरु परिवर्तन भएका छन्।  त्यसैले त धर्ति सुन्दर देख्न थालेकी छु, यहाँका सबका सब मनहरुमा स्नेह देख्न थालेकी छु। 


 
थाहा छ तिमीलाई ? अब त म मलाई घृणा गर्ने जोकोहीलाई पनि माया गर्न थालेकी छु, मलाई कसैले इर्स्या गरेको थाहा हुँदै हुँदै पनि तिनिहरुसंग नजिकिन थालेकी छु।  किन थाहा छ ? किनकी मैले थाहा पाए, रिसाएर, जलेर अनि इर्स्या गरेर कुनै युन्द्ध जितिन्दैन।  फेरि बल्ल बल्ल पाएको यो जीवनमा चिन्ता, देश, इर्स्या या त  कसैलाई घृणा गरेर कसले के पाएको छ ? यदि पाएको छ भने बदलामा त्यस्तै पाएको छ।  कसैलाई रिस गर्यो रिस पाएको छ।  कसैलाई दुख दियो भने बदलामा दुख पाएको छ।  त्यसैले मैले पनि सिके तिमीबाट माया गर्ने बानि, सबैलाई आदर गर्ने बानि।  चाहे उनीहरुले मलाई घृणा गरुन या त तिरस्कार गरुन् तर म त यस्तो  एउटा मानब हु जो सबैलाई संधै माया गर्छु, सबैलाई आदर गर्छु किनकि यो सबै तिम्रो प्रेरणा हो। 


मैले कसरी सिके होला ? तिमी जान्न चाहन्छौ ? सायद अब त थाहा पायौ होला।  जब जब म तिमिसंग रिसाउछु तिमी फेरि पनि मुस्कुराई रहन्छौ।  जबजब म तिमीलाई रिसको आबेशमा निलुला झैँ गरेर घुर्छु तिमी त रिसाउनुको साटो  फिस्व हासी पो  दिन्छौ।  हो त्यहि तिम्रो त्यहि स्वभाबबाट आफु पनि प्रभावित भए।  त्यसैले तिमीले मेरो मनमा यस्तो स्थान पायौ, मेरो मनको साथि, तिमी संधै माथि।  तिमी मेरो नजरमा मात्र होइन दुनियाको यस्तै मिठो साथी बन्नु।  दुखि आत्माहरुको मलम बन्नु अनि सबै मनहरुको मनको साथी बन्नु।  तिमीलाई धेरै धेरै सुभकामना। 


THE END

12/04/2020

Saturday, November 21, 2020

एक्लो हिड्नेहरुको कथा


 जीवन एक्लो होस् या त कसैको साथमा होस् जीवन जिउनु सिक्नु पर्छ, जीवन रम्नु जान्नु पर्छ अनि त मज्जा छ जिउनुभित्र। पिडा पनि छन् , खुसि पनि छन्  यसैको साथमा मिठो मुस्कान फिस्व निकाल्ने हो अघि बढ्ने हो, अनि त रमाइलो छ त  जीवन। 

हो जीवन कसैले एक्लै  जिएका छन् यहाँ त कसैले कसैको साथमा बाधिएर पारिवारिक जीवन जिएका छन्।  दुवै प्रकारका जीवनमा आ आफ्नै प्रकारका खुसिहरु छन्, पीडाहरू छन्, भोगाइहरु छन्।  कसैको नजरमा एक्लो


जीवन आनन्द छ त कसैको नजरमा पारिवारिक जीवनभित्रको मज्जा अर्कै छ।  जे होस् आज मैले यहाँ एक्लो हिड्नेहरुको कथा पस्किन लागेकी छु। 

हुन त एक्लो जीवन जिउने महिला या त पुरुष दुवै हुन्छन्, एउटा महिला भएकी नाताले मेरो संगतमा भने  उनै महिलाहरू छन् जो जीवनमा साथ बिना नै  जीवन चलाइरहेका छन्।  जब जब उनीहरु संग भलाकुसारी गर्छु तब तब उनीहरुको भावना अनि आफ्नो भावाना उस्तै उस्तै  लाग्छ। महिलाको पीडाहरू उस्तै उस्तै हुन्छन् त्यसैले त हामी संधै कोमल हुन्छौ, संधै शान्त हुन्छौ, तर कुनै समयमा हामी यति कठोर पनि हुन्छौ कि हामीलाई जुनसुकै तुफानले पनि छेक्न सक्दैन, आधीले पनि रोक्न सक्दैन अनि जुनसुकै बाधा अट्चन किन नहोस हामी हाम्रो गन्तब्यको लागि निरन्तररुपमा आफ्नो पाइला चालिरह्नछौ। 


हामीले सानो हुँदा देखि नै सुनेर आएको एउटा साझा कुरो थियो, " तिमी छोरीहरु अर्काको घर जाने जात, भोलि अर्काको घर गएर अरुलाई रिझाउनु पर्छ, त्यसैले काम गर्दा पनि बिस्तारै गर्नु ,हल्ला नानिकल्ल्नु, हिड्दा पनि बिस्तारै हिड्नु तबमात्र सबैले मन पराउछन्  "।  सम्झिंदा पनि अचम्म लाग्छ, किन छोरीको रगत र छोरामा हुने रगत एकै हुन् भनेर सोचेनन् हाम्रो बाबा आमाहरुले अनि हाम्रो समाजले । छोरी पनि आफ्नै सन्तान हुन् भनेर किन सोचेनन् उनीहरुले।छोरी भएर जन्मनुमा महिलाको के दोष थियो ताकि अरुलाई कसरी खुसि राख्ने भन्ने कुरो मात्र सोच्नु पर्ने ? किन छोरीले चाही मैले कसरी प्रग्रति गरु, या त परिवार, समाज र रास्ट्रको लागि नै केहि गर्न सक्छु भन्ने विश्वास भन्दा अलग कसरी अर्काको परिवार सम्हाल्ने भन्ने मात्रै सोच्नु पर्ने ?  छोरीलाई पनि पढाउनु पर्छ, ज्ञानी बनाउनु पर्छ भन्ने बाबा आमाको मान्यता भए पनि हाम्रो समाजको हेर्ने आखाहरू कहिले बदलिएन।  छोरा रातको १२ बजे घर आउदा किन ढिलो भयो भनेर प्रश्न मात्र गर्ने परिवारले छोरी कतै ढिलो घर आइ भने इज्जत फाल्लिस है भनेर औला उठाउने प्रचलन अहिले सम्म कसैको मानसिकताबाट हट्न सकेको छैन। 

 

प्रसङ्ग एक्लो जिन्दगीको।  हो एक्लै जिउनुको मजा आफै संग छ।  जीवन आफुले भने जस्तै जिउनु पाएको छ, आफुले भने जस्तै खेल्न पाएको छ तर कहिलेकाही एक्लो महसुस हुन्छ, कहिलेकाही आफुले भने जस्तै, आफुले सोचे जस्तै एउटा असल जीवन साथि भैदिए ? आहा जिउनुको अर्थ बद्लिन्थ्यो होला  हगि ? प्रकृतिले दिएको नियम हो यो, महिला र पुरुषबीचको  आकर्षण, अनि एक अर्काको साथले पूर्ण हुने जिन्दगि।  कसको चाह हुन्न, आफुलाई माया गर्ने एउटा साथी जीवनमा होस्, कसको मन  हुन्न कि, साथमा कल्कलाउदा लालाबलाहरु हुन्।  हो सबैको चाहना हुन्छ जीवन पूर्ण बनाउने, रंगिन बनाउने तर सबैको चाहना हुँदैमा सबैको चाहना कहाँ पुरा हुन्छन् र ?   किनकी यहाँ त महिलालाइ प्रयोगको साधन बनाउने दानबहरु छन् जो महिलालाई कठपुतली  जस्तै आफ्नो चाहना अनुसार प्रयोग गर्न चाहन्छन्। हो यस्तै कारणले कैयन एक्लै हिड्न बाध्य छन्। 


मैले पनि आफनै जीवनले भोगेका केही तिता मिठा पलहरु अनि एक्लो जीवन जिउनेका भावनाहरु धेरै मिल्दा जुल्दा देखेको छु।  जब म सानो थिए त्यो समय देखि नै मलाई महिला र पुरुषबिचको विभेद, सामाजिक संरचना देखि बिद्रोह जागेर आउथ्यो।  तर  जब मैले केटा मान्छे हरु संग संगत गर्दै गए उनीहरु धेरै परिवर्तित भएको महसुस गरे ।  त्यसैले लाग्थ्यो, समयले मान्छेलाइ परिवर्तन गर्दो रहेछ।  त्यसैले अहिलेको शिक्षित पुरुषहरू  कम्तिमा हाम्रा  अघिल्ला पुस्ता भन्दा धेरै बुझ्ने भएका रहेछन्।  उनीहरु महिलालाइ सम्मान गर्छन्, उनीहरुको भावनाको कदर गर्छन्।  हो मलाई एक यस्तै जीवनसाथीको खाँचो थियो अनि मैले जसलाई आफ्नो साथी सम्झे उसमा उनै गुणहरु रहेको पाए । 


जीवन जिउदै जाँदा समय बदलियो, आबश्यकता बदलियो तर मान्छेको सोच बदलिन अझै बाकि  रहेछ । जीवनलाई अघि बढाउदै जाँदा सजिलो भन्दा अप्ठ्यारा पाटाहरु  धेरै हुँदा रहेछन् तर तिनै  अप्ठ्यारा हरेक पलहरुले नै जीवनमा नयाँ नयाँ शिक्षा सिकाइरहेका हुन्छन्।  मेरो श्रीमान एस्तो होस्, उस्तो होस्, मलाई माया गरोस, मैले भनेको सुनोस, आदि इत्यादी सबै महिलाका चाहनाहरु हुन् तर चाहना भन्दा भोगाइ धेरै अलग हुँदो रहेछ, यथार्त धेरै फरक हुँदो रहेछ।  तर कसैले कसैलाई  दबाउदा दबिने कमजोर  कुनै पनि महिला छैनन अब। हामी त अहिले यस्तो समयमा आइपुगेका छौ कि हामी एक्लै पनि खुल्ला संसारमा पुरुसबिनाको जीवन पनि एक्लै सयर गर्न सक्छौ, रमाउन सक्छौ, खुसि हुन् सक्छौ। 


अहिले एक्लै हिडिरहेको साथीहरु अरुको परिवार, अरुको सम्बन्ध देखेर नै आफु एक्लो हिड्न चाहेका हुन्, यो उनीहरुको मनको चाह अबश्य होइन ।  वास्तबमा आफुले कल्पना गरेको संसार अनि मान्छेले वास्तविक जीवनमा भएको यथार्थ देख्दा जो कोहीलाई पनि यस्तै सोचाई आउनु स्वाभाविक हो।  तर जब कुनै पनि परिवार र समाजलाइ अगि बढाउनुको लागि जिम्मेवार पक्ष महिला र पुरुष दुबैले बराबरी जिम्मेवार बहन गर्दैन्न तबसम्म हामी समानताको कल्पना गर्न सक्दैनौ ।  पुरुषको खोक्रो घमण्ड र म पुरुष हु, म संग शारीरिक शक्ति ज्यादै छ अर्थात् महिलाको भूमिका एउटा परिवारमा जहिले पनि पुरुषको भन्दा गौण रहनु पर्छ भन्ने भावनाको अन्त्य हुन्दैन तबसम्म न त सुसस्क्रित मानब जीवनको अर्थ सम्भब छ न त कुनै एउटा सुसंजित समाज र बिस्वको नै।  

Date 11/21/2020


Saturday, October 17, 2020

बिगतका ती दिनलाई फर्केर हेर्दा ( दंशैं )


स्वदेशमा जब जब दशैँ, तिहार जस्ता चाड आउछन्  तब बिदेशीमनमा संधै त्यहि बालापनको सम्झना र रमाइला  पलहरु दिमागभरि ताजा भएर आइपुग्छ। जहाँ रंगी बिरंगी फूलहरुको बर्षा हुन्थ्यो, घर घरमा नयाँ लुगा लगाउने रहर, घरलाई झिलिमिल्ली  सिगारेको त्यो पल , नयाँ लुगा लगाउदै पिङ्ग खेल्न दौडिएको त्यो समय।  आहा अब त केवल सम्झना बाहेक के नै पो रहर्यो र ।  जब नेपालमा आमालाई फोन गर्छु, आमा भन्नुहुन्छ; " यहाँ त दशैँ आयो नानी, तिमीहरु कसरी मनाउछौ, छुट्टी मिल्छ कि मिल्दैन् होला, कहिले घर आउने ? " यस्तै जिज्ञासा रहेको हुन्छ

Parbati, Pramila, Patma, Indira and Gita at Pokhara


आमाको संधै।   " हामी मनाउछौ  नि आमा, छुट्टी भएको समय मिलाएर भेटघाट गर्छु, चिन्ता नलिनु है  " यस्तै  हुन्छ मेरो जवाफ ।  यहाँ त दशैँ, तिहार जे जस्तो आए पनि  नेपालको जस्तो छुट्टी कहाँ पाउनु ? त्यति धेरै साथीहरु अनि आफन्तहरु संग भेट्ने अवसर कहाँ पाउनु ? हुनत साथीहरु संगको भेटघाट, आफन्त संगको भेटघाट त जहाँ गए पनि भईरहन्छ, तर  खोइ र कहाँ छ छुट्टी ? कहाँ हुन्छ घरलाई बेहुली जस्तै सिगार्ने त्यो जाँगर अनि त्यो घर , कहाँ छ दाजुभाइहरुको दसैँ आयो, तिहार आयो, झिलीमिलि झिल्का, तातो रोटी मिल्का भन्दै घर घरमा नाच्ने गाउने ती रमाइला  लावा लस्करहरु ? छ त केवल मात्र सम्झना। 

गाँउ घरका केटा केटीलाई दशैँ तिहार जतिको रमाइलो पल सयादै अरु कमै छन् । मेरो सम्झना  त स्कुलको १५ दिनको बिदा, घरलाई सबैजना मिलेर  सिंगार गरेर रमाइलो त्यो पल, घरको आँगन भरि फुलै फूलले हराभरा भएको त्यो रमाइलो वातावरण, वरिपरि खेतमा  धान पाकेर  खेतबारी नै सुनौलो   भएको त्यो  क्षण, त्यसैको सुगन्धमा प्रफुल्ल रमिरहेको मेरो गाँउ, अहिले यो दशैँ भन्ने शब्द सुन्ने  बित्तिकै कुटुक्क मन दुख्छ मेरो ।  फेरि म त्यो ठाउँ कहिले पुगिएला, पहिलेका जस्तै  ती रमाइला पलहरुलाई  कहिले अंकमाल गरुला, यस्तै अनगिन्ती प्रश्नहरु खडा हुन्छन् आफैभित्र ।   म सानो छँदा मेरो एकजना साथी थिइन साइनोमा भदैनी,( मिना )।  उनि र म छ महिनाको फरक मा जन्मिएको अरे, हामी दशैको टिका को दिन आ आफ्नो घरमा टिका लगाई सके पछि नजिकको आफन्त कहाँ टिकाको लागि  संगै जान्थेउ  त्यसपछि गाउभरि आ आफ्नो ठुला बढा कहाँ ।   हामी यति आत्मीय थियौ कि   प्राय हरेक ठाउँ संगसंगै जानु पर्ने, संगसंगै खेल्नु पर्ने नत्र त दिन नै खल्लो हुने  ।  हरेक दशैमा हामी टिकाको दिन दिउसो भरि संगै गाउघरमा  टिका लगाउन  साथीहरु संग जान्थेउ , सबैले टिका लगाइदिदै  दक्षिणा दिन्थे  , घरमा आए पछि कसको पैसा कति भयो भन्ने हिसाब किताब हुन्थ्यो ।  ती  क्षणहरु  सम्झिंदा सारै रमाइलो लाग्छ अनि त्यो बालापनको निर्दोषमनहरु सम्झिंदा  हासो पनि लाग्छ। 

हाम्रो गाँउमा लुगा सिलाउने जम्मा दुइ परिवार थिए। दशैताका सबैकोघरमा पालै पालो लुगा सिलाउने दिन हुन्थ्यो।  कहिले बाबा सदरमुकाम गएर हामीलाई रेडिमेड लुगा ल्याइदिनु हुन्थ्यो, तर प्राय जसो एकजनालाई बोकाएर कपडाको थान नै घर आइपुग्थ्यो।  रेडिमेड कपडा सुटुक्क बाबाको ब्यागबाट निस्किंदा हामीलाई सर्प्राइज हुने।  बाबाले पनि मा अलि झिल्कि भएकोले हो कि खोइ दिदीलाई अलि साधारण कलरको भए पनि मेरो चाही अलि रंगिन खालको हुने।  म सानो हुँदा मलाई धेरै बुट्टा भएको अनि अरु भन्दा अलग  डिजाइन भएको लुगा मन पर्ने, हाम्रो लागि लुगा बनाइदिनु हुने दाइले मलाई धेरै माया गर्नु हुन्थ्यो।  म घरकी कान्छी छोरी भएकीले मलाई कसरी खुसि पार्नु  पर्छ उहालाई राम्रो थाहा थियो।  मलाई कस्तो प्रकारको डिजाइन  मन पर्छ भन्ने पनि उहालाई थाहा थियो त्यसैले अरुको भन्दा फरक धेरै  मेहनत गरेर मलाई  लुगा  बनाइदिनु हुन्थ्यो।  भोलि फूलपाती भन्दा आज चाही सबै सिलाई सक्नु पर्ने किन भने फूलपातीको दिनदेखि भने नयाँ  लुगा लगाएर पिङ्ग खेल्न हतार हुन्थ्यो।  त्यसैले कहिले दुइ दिन दिनमा सकिन्थ्यो त कहिले भने हप्ता जस्तै लाग्थ्यो। 


हाम्रो घरको मुनि एउटा ठुलो बरको बोट थियो, त्यहि बोटमा एकताका दशैमा ठुलो पिङ्ग बनेको थियो।  त्यो ठाउमा बजार जस्तै हुन्थ्यो किनकी   गाउघर  मान्छे देखि लिएर टाढा गाँउका मान्छे हरु पनि त्यहाँ  पिङ्ग खेल्न आउथे ।  जो पहिले आयो त्यहि अनुसार  सबैले पालो पर्खिनु पर्ने। म र मेरो साथी सानै   थियौ त्यसैले  आफ्नो पालो कुर्दा कुर्दा नपाए पछि आफु भन्दा ठुलो दिदी  दाजुहरुले सहयोग गर्नु हुन्थ्यो ।  आफु नखेले पनि अरु खेलेको देख्दा रमाइलो लाग्थ्यो।  तर अहिले आएर भने कहाली लागेर आउछ, त्यो बरको बोट मुनि ठुलो खोल्सा छ अनि चट्टान नै चट्टान भरिएको ठाउ छ , कहिँ कोहि त्यो पिङ्ग माथि पुगेको बेला झरेको भए ? ओहो अहिले पो तिरिङ्ग हुन्छु , धन्न त्यो समयमा कसैलाई केहि भएन।  सबै जना रमाए।  कोहि कोहि त कसले माथि पुर्याउने भनेर बाजी पनि खेल्थे आफु भने त्यो समयमा अलि  हिम्मत थिएन, पालो आए पछि  सुइय हुर्रिने, आकाशमा पुगेको रमाइलो महसुश गर्ने  अनि अन्य  समय अरु मच्चिएको हेरेर रमाइलो गर्ने बाहेक। 

तिहारको रमाइलो बेग्लै हुन्थ्यो।  कुकुर तिहार देखि घरमा माला बनाउनु सुरु गर्नु पर्ने।  घरमा भएको सबै भाडा कुड़ाको लागि पनि माला  बनाउनु पर्ने।  गाइ, गोरु, मान्छे देखि लिएर सबै झ्याल, ढोकाको सबैको लागि थरिथरिको माला बनाउदा कम्ति मज्जा आउँदैन  थियो। आफ्नो  गाँउघर देखि लिएर टाढा टाढा गाँउ घरबाट पनि देउसी भैलोको  नाचगान  घर घरमा झिलिमिली बत्ति बालेर आउंथे, रमाइला गीत  संगीतको धुनमा नाचगान गर्थे अन्तिममा नाग्लोमा सेलरोटी, पैसा अनि अरु केहि सिदा राखे पछि  आशिर्बाद दिन्थे कम्ता रमाइलो हुन्न थियो ती आशिर्बादको गीतहरु सुन्न ।  नाचगानको रमाइलो त बेग्लै थियो देउसी आउनेको रमाइलो अर्कै ।  हाम्रो गाँउमा एकजना गिताराम भन्ने दाइ देउसी खेल्ने समयमा सारै राम्रो कथा भन्नु हुन्थ्यो।   अहिले सम्म मेरो दिमागमा त्यो ताजै छ, त्यो देउसी गीतको तालमा गाएको  गीति कथा घरको कौसीमा बसेर सुनेको पल हिजो जस्तै लाग्छ, आफ्नो घरमा सकिए पछि फेरि अर्को घरमा पनि गएर सुनु जस्तै लागेको थियो । मैले आमालाई भनेकी पनि थिए फेरि उहाहरुलाई हाम्रो घरमा बोलाउनु मिल्दैन आमा।  आमाले अबो अर्को साल भन्नु भएको थियो म संधै अर्को तिहार पर्खि रहन्थे तर एकदिन उहाहरु संधैको लागि गाँउ छाडेर शहर जानु भयो।  

हाम्रो घरकै छेउमा हाट बजार लाग्थ्यो, अरु समय दिनमा मात्र हुने त्यो हाट  तिहारको समयमा दुइ तिन रात जस्तै लाग्थ्यो । रातमा  भैली खेल्ने, बजार जाने, अनि दाजु भाइको लागि भनेर रंगी चंगी माला रातभर बनाएको  त्यो क्षण अहिले केवल सम्झनामा मात्र सिमित छ।  एक सालको तिहारमा मेरो बाबा कतै टाढा जानु भएको थियो , हाम्रो गाँउमा  एकजना दिदी हुनुहुन्थ्यो मैले नाम चाहि बिर्सिए, त्यो दिदीले कर गरेर आमाले एक रात हामी तिन जना छोरा छोरी  लिएर राति बजार जानु भएको थियो।  त्यो दिदी चाही गित गाउनु र भैलिनी खेल्नुमा सारै अब्बल, मेरो आमा पनि अलि अलि सहयोग गर्नु हुन्थ्यो हामी सबै केटा केटि सुनेर मक्ख।  सुनेर  रमाइलो हुँदै थियो तर राति म कतिखेर निदाए थाहा भएन बिहान बिउझिंदा आफ्नै ओछ्यानमा सुतिरहेको थिए। समय यस्तै रमाइलो, उकाली ओराली हुन्थ्यो तर दशैँ र तिहारको समयमा रमाइला पल बाहेक अरु कुनै अप्रिय घटनाको सम्झना छैन। 


अलि ठुलो भए पछि पढ्नको लागि शहर पसियो , त्यो गाँउघरको  रमाइलो पलहरु सम्झनामा सिमित रह्यो।  जतिसुकै रमाइलो भए पनि अहिले ती  समयहरु धेरै टाढा भईसकेका छन् मात्र छ सम्झना हरु।   अहिले सम्झिंदा त्यो समयमा पनि गरिब र दुखिलाइ अति नै दुख परेको  रहेछ।  त्यतिमात्र होइन राज्यको शाशकहरुले जबर्जस्ति दशैँ मनाउन पनि लगाएका रहेछन् । देशलाई हिन्दु देशको एकल देश बनाएर अन्य धर्मवालाम्बी माथि अत्याचार भएको रहेछ।   मार हानेर सबैको घरमा रगतको छाप हुनु पर्ने नत्र त्यसलाई अस्विकार गर्नेलाइ त्यो समयको सरकारले कारबाही गर्ने प्रचलन थिएछ।  यो बुझे पछि केटाकेटीपनमा भएको खुसिमा तुसारापात छायो।  आफ्नै देशमा पनि एक जातीय र एक धर्मको अरु माथि गर्ने दमन र सड्यन्त्रकारी ब्यबहारले मन कटक्क पोल्छ।   त्यति मात्र होइन चाडबाड मनाउने नाममा अरु निर्दोष प्राणीको हत्या गरेर, धर्मको नाममा मार हान्ने परम्परा पनि अत्यन्त नाजायज लाग्छ।  आफु खुशी  हुनुको लागि निर्दोष प्राणीको हत्या गर्नु पर्ने, अरुको ज्यान लिएर आफु खुसि हुनु पर्ने यी प्रब्रिदिले चाँही  सारै मन दुख्छ ।  चाड मनाउनु, सुखी हुनु र रमाउनुको लागि हत्या हिम्सा गरेर मात्र होइन, तडक भडक  गरेर मात्र, महंगा सामग्रीको प्रयोग गरेर मात्र  होइन सामान्य रुपमा आफु संग जे छ त्यसैमा रमाउन पनि सकिन्छ।  चाडको नाममा आफु संग नभए पनि ठुलो हुनु पर्ने, देखाउनु पर्ने, राम्रै लाउनु पर्ने, खानु पर्ने जस्ता देखाशेखिका  प्रब्रिदिले कतिपयलाई हुन् सम्म को पिडा पनि छ।  त्यसैले म त भन्छु, घाटी हेरेर हाड निलौ , दशैँ भन्दै दशा लाइ निम्तो नगरौ। आफु संग जे छ जस्तो छ त्यसैमा रम्न सिकौ।  आफु पनि रमाउ, अरुलाई पनि रम्न देऔ।  

समाप्त 

Written by

Indira Chongbang

10/17/2020











Saturday, September 26, 2020

समय अनि भोगाइ


जिन्दगी कहिले शितल धरातल जस्तै लाग्छ त कहिले बर्षातको गरम मौसम जस्तै। यस्तै घाम, पानी र बर्सातको रुपमा निरन्तर चलिरहने एक चर्या हो जीवन। कुनै क्षणले रमाइलो अनुभूति दिन्छ, कुनै क्षणले दुख नै दुखको अनुभूति दिन्छ। जुन समयले जुन क्षणको अनुभूति दिलाए पनि कुनै न कुनै पाठ सिकाइरहेको हुन्छ। यिनै अनुभूतिहरुले जिन्दगीमा नयाँ नयाँ आयाम थपिरहेको हुन्छ। जिन्दगी सोचेको जस्तो अनि खोजेको जस्तो भए संसारमा सबै सुखी नै सुखी अनि खुसि अनि खुसि हुने थिए, बिडम्बना जीवन न त सोचे जस्तो हुन्छ न त खोजे जस्तो हुन्छ। यो त आफ्नो तरहको
हुन्छ अनि हामी पनि त्यसरी नै बहन्छौ जता जता यो बहिदिन्छ । समयले नै जीवनलाइ डोरयाउदै लान्छ अनि हामी पनि त्यसरी नै चलिरहन्छौ। समय नै सबैभन्दा शक्तिशाली यन्त्र हो जसले हाम्रो जीवनमा नियन्त्रण लिएको हुन्छ। त्यसैले त भनाइ छ समय संग जब हामी जुध्न सक्दैनौ तब जीवनलाई सहि तरिकाले चाल्न सक्दौनौ। यथार्थमा समय र भोगाइको मिश्रण हो जीवन।

 यिनै महान समयको पछि लाग्दा लाग्दै अनि यहि संग चल्दा चल्दै एकदिन यो संसारबाट चटक्क बिदा लिनु पर्ने हुन्छ। समय जस्तो भए पनि, परिस्थिति सोचे भन्दा फरक भए पनि यो जीवन सुन्दर छ। यस बिशाल धरातलमा हामी केहि समयको लागि रमाउन आएका हौ, यहाका आकाश, यहाका हावा, माटो अनि सबका सब चिजले यसै भनिरहेको हुन्छ। तिमी यस धर्तीमा केहि समयका लागि खेल्न आएका छौ, रम्न आएका छौ त्यसैले जति सम्म सक्छौ मनोरंजन लिनु। हो यदि हामी मनबाट चाहना लियो भने जीवनमा जतिसुकै पिडा होस् या त बेदना होस् कुनै कुराले छेक्न सक्दैन। तर जब अभाब र बिकराल कुराहरु मात्र दिमागमा खेलाई रह्यो भने जीवन संधै जिर्ण हुन्छ, खोक्रो बन्छ अनि निराश हुन्छ। यदि भौतिक सुख सयल बाट आफ्नो मन र दिमागलाई टाढा राखेर त्यो स्वच्छ हावा, शितल धर्ति अनि उज्यालो दिनहरुलाई जब कल्पनामा अङ्गाल्छौ आहा जिन्दगी कति रमाइलो लाग्छ। संधैभरी बसन्त, संधै हरियाली अनि संधै सुन्दर । त्यसैले हेर्ने आँखा र मन जतातिर डोर्यायो त्यस्तै बन्छ जीवन पनि। 


 जिन्दगीमा अभाब र समस्या बिनाको पल कमैको हुन्छ। समस्याबिनाको मान्छे त्यो मात्र हुन्छ जसको शरीर आर्यघाटमा जलिरहेको हुन्छ। दुख , अभाब र समस्याले जिन्दगीलाई पूर्णता दिरहेको हुन्छ किनकी हरेक समस्याको एउटा समाधान निस्कन्छ त्यो समाधानको लागि जब हामी हाम्रो दिमाग लगाउछौ त्यसबाट कुनै न कुनै नया ज्ञान सिकिरहेको हुञ्छौ। त्यसले समस्या र दुखसंग भाग्ने भन्दा यो संग लड्नु पर्छ, भोग्नु पर्छ अनि यस्ता चुनौतिको सामना गर्दै अगि बढ्नु पर्छ। एउटा समस्याको समाधान पछि अर्को समस्याको जन्म हुन्छ भने झैँ आज यो काम गरेर सक्ने सोच गर्यो फेरि भोलि अर्को काम टुप्लुक्क आइपुग्छ। त्यसैले भोलि, या त पर्सि मात्र रमाइलो गरुला, त्यसपछि खुसि बनुला भन्ने कल्पना गर्दा गर्दै त्यो घडी टुप्लुक्क आइपुग्छ जब हामी यस सुन्दर संसारबाट बिदा हुने समय नाजिकिरहेको हुन्छ। हुनत जीवनलाई निरन्तरता दिनको लागि, भोलिको कल्पना र सपना प्रमुख कडी नै हो यधपि कतिपय भोलि भनेर थाती राख्दा धेरै ढिलो पनि हुने गर्छ। त्यसैले यसपछि रमाउला, त्यसपछि मात्र खुसि बनुला भन्ने सोच चाही टाढा सारेको राम्रो। जीवन छ र रमाइलो छ, बाचेको छौ र त हासेको छौ। के थाहा हरेक दिन कसै न कसैको मृत्युको समाचार गुन्जिए झैँ भोलि कुन दिन हामी पनि त्यहि समाचार नबनुला। 


 बाचुन्जेलसम्म हामीलाई घमण्ड आउछ, लोभी र चाकडी भावना पनि आउछ। 'मै खाऊ, मै लाउ अरु सबै मरुन" भन्ने पापी मनहरु पनि नजन्मिने होइनन् किनकी बचुन्जेली सम्म सबैलाई आफुनै सबै भन्दा राम्रो, सबै भन्दा उत्कृस्ट अनि सबै भन्दा सुखी हुने भावना जाग्छ तर आफु मात्र सुखी र खुसि हुँदा अरुलाई कुन किसिमको असर परेको छ भन्ने हेक्का प्राय कमैलाई हुन्छ। जीवन दुइ दिनको पाहुना हो, जब हामी कसैलाई माया गर्छौ, कसैलाई सहयोग गर्छौ, दुख र पिडामा मलम लगाउने काम गर्छौ तिनै अनुभूतिहरु मात्र सम्झनाको लागि बाकि रहन्छ। कसै संग मिठो बोल्दैमा को सानो हुन्छ, कसैलाई दुख र आपतमा सकेको सानो सहयोग गर्दैमा को गरिब हुन्छ। त्यसैले कसैको दुखेको आत्मामा मलम लाउन ठुलै परिश्रम गर्नु पर्दैन, मिठो बोलि, नम्र ब्यबहार र स्वह्रिदयी आत्मा भए काफी हुन्छ। कसैलाई आदर गर्दा त्यसको प्रतिफल आदर नै मिल्छ, माया गर्दा माया मिल्छ भने कसैलाई घृणा गर्दा आफुलाई पनि त्यस्तै मिल्छ। यो धर्ति, यो हावा, यो पानी अनि यो माटो सबै हामीलाइ प्रकृतिले दिएका अमुल्य उपहार हुन्। त्यसैले म मात्र यसको हकदार हो, मै मात्र बाचू, मै मात्र खाऊ भन्ने कल्पना भन्दा पनि हामी सबै बाचौ, सबै जना यस सुन्दर धर्तीमा रमौ भन्ने सोच आयो भने संधै हामीमा एकताको भावना आउछ। जीवनमा खुसीले छाउछ अनि दुखहरु सुखमा परिणत हुन्छन, पीडाहरु अमुल्य रहरहरुमा परिणत हुन्छन् । जिन्दगी एक भोगाइ हो, भोग्दै, सिक्दै अनि रमाउदै हिडौ ताकि भोलि यो संसारबाट टाढा भए पनि बाकि हुनेहरु हामीलाई सम्झिरहने छन्। समाप्त 
 By Indira Chongbang
09/26/2020

Wednesday, July 22, 2020

तिम्रो प्रेम, मेरो काविल


तिम्रो प्रेम, मेरो काविल

तिम्रो साथ मेरो लागि बाच्ने एउटा आधार बन्यो
तिम्रो प्रेम  मेरो लागि हास्ने एउटा आधार बन्यो

तिम्रो साथले नै जीवन बाच्न संधै उत्साहित गरिरहन्छ  किनकी तिमी नै मेरो  साथ  हौ, जसले मेरो हरेक दुख र सुखमा बिना कुनै स्वार्थ, मलाई  सुनिरहंछौ । जब म एक्लै हुन्छु, तिमी संधै आफ्नो मुस्कुराहट छर्दै मेरो समिप आउछौ अनि मलाई तिम्रो साथको आभास गराउछौ, तिम्रो प्रेमिल मुस्कानले जीवन फेरि रंगिन बन्छ ।  म झस्किन्छु   तिमीलाई घरि घरि भुल्दो रहेछु है अनि तिम्रो अस्तित्वलाई पनि त्यसैले त कहिले कहिँ उदासी बन्छु, म
एक्लो महसुस गर्छु, मलाई माफी गरिदेउ ।  दुनियामा जो जसलाई भुल्न सके पनि तिमी त मेरो जीवनको एक अभिन्न अंग हौ जसलाई नत भुल्न सम्भब छ, न त टाढिन नै, त्यसैले तिमी मेरो सास हौ, तिमी एक भरोसा हौ जीवनमा हास्ने एक येसास हौ  ।  तिम्रो साथ नै मेरो लागि बाच्ने एउटा आधार हो, तिम्रो प्रेम नै मेरोलागि हिड्ने साधन हो।  त्यसैले त प्रिये  तिम्रो साथले मेरो एक्लोपन संधै दुर हुन्छ, म संधै हासिरहंछु  चाहे त्यो कुनै अन्धकारमा रुमलिदाको पल होस्  या त बर्खायामको तुफान र हुरीको समय होस्।

तिमी सधैं जीवनमा अघि बढिरहने हौसला दिन्छौ।  जीवनमा कुनै कुरा गल्ति हुँदैछ  भने मलाई  झस्काउछौ अनि फेरि कुनै राम्रो काम गरिरहेकी छु भने  प्रसंसा दिएर प्रोत्शाहित गर्न तम्सिरहन्छौ ।  साँची नै तिमीबिना त म कति अनभिज्ञ हुन्छु होला हगि ? त्यसैले त संधै मेरो ख्याल राख्छौ  र मलाई मानवता र दयाको बारेमा सिकाइरनछौ । तिमीलाई थाहा छ नि , यस संसारमा जोकोही पनि एक्लै आउँछन् र एक दिन यस पृथ्वीलाई छाडेर  एक्लै जान्छन् । त्यसैले यो संसारमा जति पनि भौतिक साथहरु छन् सबै  अस्थायी हुन्छन् किनकी कसैले कसैलाई जीवनको अन्तिम सम्म साथ दिन्छु भन्दा भन्दै जीवनको अन्त्य भने अलग अलग समयमा  हुन्छ । तर म चाहन्छु  मेरो मृत्यु पछि पनि तिमी मसँगै रहनेछौ, म जुन संसारमा शयर गर्छु तिमी पनि त्यहि दुनियामा हुनेछौ।

मदहोसम म तिमीलाई माया गर्छु  किनकि हामी एकार्कामा परिपुरक हौ । दुनिया यो रंगिन देख्छु किनकी  जीवनका यी हरेक पलहरुसंग  रमाउनु नै जीवनको लक्ष्य हो ।   जीवनमा धेरै साथीहरू छन् तर तिमीमात्र एक यस्तो  अनन्य मित्र, अनन्य प्रेमी हौ जो मेरो जुनसुकै परिस्थितिमा पनि मबाट टाढा जांदैनौ, तिमीलाई जति नै गालि गरे पनि संधै तिम्रो निस्छल मुस्कानको साथ् मलाई माया गरिरहन्छौ अनि मलाई छ्य्मा दिरहन्छौ।   मेरो अन्य साथी र तिमिबिचको भिन्नता  यहि हो  जब म मेरा साथीहरूलाई अन्जानमा चोट  पुर्‍याउँछु  मसँग तिनीहरू दु: खित हुन्छन्, तिनीहरू मसंग रिसाउछन्   अनि दोश्रो दिन देखि मबाट टाढा हुन्छन, कति त बोल्न पनि गाह्रो मान्छन्  । तर तिमी एक मात्र त्यस्तो छौ  जुन मेरो  हरेक फरक धारणाको बाबजुद  सधैं शान्त छौ , मलाई विश्वस्त पार्ने प्रयास गर्छौ अनि  सँधै मलाई शक्ति  र हौसला दिइरहन्छौ । 


म आज तिमीप्रति कति कृतज्ञ छु अनि तिमी मेरो जीवनमा कति महत्वपुर्ण पात्र हौ, यहि भन्नको लागि केहि समय लिंदै छु । आज मलाई थोरै समय  तिम्रो निम्ति समर्पण गर्न मन लाग्यो, तिम्रो साथ, तिम्रो माया, तिम्रो प्रेरणाका लागि अनि  मलाई हरेक पलहरुमा थपेको उर्जाको निम्ति , म तिमीसंग धेरै नै आभारी छु ।   एक मानवको रूपमा, म सँधै समृद्धि र आनन्दको आशा गर्दिन किनकी त्यो समयको लागि धेरै मेहनत गर्नु पर्छ, धेरै त्याग गर्नुपर्छ त्यो मलाई एकदमै राम्रो संग थाहा छ।  जिन्दगीको हर मोडहरु संग लड्दै पड्दै, संघर्स गर्दै अघि बढ्न चाहने अनि हरेक पलहरुलाई मिठो सम्झनामा संगाल्न चाहने एक यात्री हु म।  तर  समय सदैब कहाँ एकै तालमा बहन्छ, कहिले बाटोमै आंधी आउछ, कहिले हुरी आउछ अनि कहिले झरी आउछ।  तिमी एउटा  यस्तो साथी हौ जसले मलाई मेरो हरेक सजिलो अनि अप्ठ्यारा दुवै समयमा  संधै  बलियो र  साहसी  भएर अघि बढ्ने उर्जा थापिरहन्छौ । यो सत्य हो तिम्रो साथ अनि तिम्रो आत्मीयताको कारणले म  अहिले यहाँ छु। म आफ्नो जीवनप्रति  आभारी छु, मलाई मेरो जन्म दिने बाबा र आमालाइ संधै धन्यबाद दिन चाहन्छु, तिमी त बिसेष छौ अनि सम्पूर्ण अन्य साथहरुलाइ पनि हार्दिक नमन गर्दछु।

 फेरिपनि एकपटक धन्यबाद तिमीलाइ , तिमी संधै यसैगरी  मेरो प्राण, विश्वास अनि भरोशा भएर साथ दिएकोमा ।  जीवनमा धेरै मेरा साथीहरू छन् उनीहरु पनि मेरो जीवनको विभिन्न पलहरुमा साथ साथमा छन् तर तिमी मेरो आफ्नो मनभित्र बसेको हुनाले खास छौ।  तिमीसंग बोल्नको लागि न त मैले फोन गर्न पर्छ, न त कुनै म्यासेज नै गर्नु पर्छ खाली तिमी त मेरो मन हौ, म जता जान्छु, जहाँ हुन्छु तिमी जहिले पनि मेरो साथमै हुन्छौ ।  म मेरा सबै साथीहरूको साथ् , प्रेम, स्नेह र  समर्थनका  लागि  कृतज्ञ छु तर, आज मैले यहाँ मेरो सच्छा साथि, मेरो जीवनको अविरल यात्राहरुमा कहिले टाढा नभाग्ने, कुनै स्वार्थ नलिने, मलाइ संधै माया गर्ने, प्रेम दिने मेरो आफ्नै मेरो सहयात्री  हो  मेरो आत्मा उसैको प्रेमिल दुनियामा डुबेर यी भावाना  छताछुल्ल पोखे । सबैलाई नमस्ते!  साथीहरू जीवनमा साथी अनि साथ हरेक समयमा अनि विभिन्न परिस्थितिहरुमा आउछन्, कुनै साथी संगको सम्बन्ध संधै प्रगाड बन्छ यधपी समय र परिस्थितिले टाढा बनाउछ  त कुनै साथीहरु कुनै बिसेष समयका लागि आउछन्  जान्छन्  तर तिम्रो आत्मा, तिम्रो मन जो तिमिभित्रै छ त्यो जति नजिकको साथी यो भौतिक संसारमा पाउन मुश्किल छ।  मेरो सम्पूर्ण मित्रहरुमा नमन।  म भित्रको मेरै प्रेमिल दुनियालाई बुझिदिनु पढिदिनु भएकोमा धेरै धन्यवाद।

By Indira Chongbang
07/22/2020

Sunday, June 7, 2020

सपनाको देशबाट मातृभूमि नियाँल्दा



जब म नेपालमा थिए सबैको मुखबाट यही सुनिन्थ्यो सपनाको देश हो अमेरिका । जोकोहीलाई जीवनमा एकपटक अमेरिका गएरमात्र मर्न पाए हुन्थ्यो भन्ने कामना हुन्छ ।हो यही दुनीयाँले सोचेको सपनाको देशमा म पनि टुप्लुक्क आईपुगे अनगिन्ति सपनाहरूलाई पछ्याउँदै । उच्च शिक्षा हासिल गर्न आएको म यही दुनीयाँमा हराउन थाले । भौतिक शरीर सात समुद्रपारी यो शहरमा रहेपनि जब निदाउँछु म फेरि आफ्नै जन्मघर अनि
बाल्यकालको साथीहरूसँग रमाईरहेकी हुन्छु । कहिले स्कुल गईरहेको , कहिले साथीहरूसँग खेलेको, तिनै उकालीओरालि बाटोहरूमा सँधै हिडीरहेकी हुन्छु । जब बिउझन्छु आफै झस्किन्छु अनि महशुस हुन्छ शरीर जति टाढारहेपनि मन मस्तिष्कहरू सँधै आफ्नै ठाँउमा घुमिरहँदो रहेछ । अमेरिकालाई धेरै मान्छेले दलदलको भूमि पनि भन्छन् किनकि जोकोही यहाँ एउटा उदेश्य लिएर आँउछन् तर यहाँ आईसकेपछि सबैको उदेश्य, सोच अनि आवश्यकताहरू परिवर्तन हँदै जान्छ । यति समयपछि नेपाल जाने या त्यसपछि जाने  भन्ने सोच्दा सोच्दै समय बितेको थाहै हुन्न ।

हो म पनि यही दलदलमा फसिरहेकी छु । एउटा फरियन सर्टिफिकेट हात पार्ने उदेश्यले आएकी  म यतै परिवार बसाउन थाले दशक भन्दा बढी समय यही भूमिमा बितिसकेछ  तर हिजो जस्तो लाग्छ अनि दुई तीन सालमात्र बितेको जस्तो लाग्छ। मेशिन जस्तै चलिरहने न्यूयोर्क शहरमा घडीको हरेक मिनेट र सेकेण्ड हेर्दै रफ्त्तारमा चल्ने जिन्दगी समय बितेको कुनै एेसास नै नहुने । बिहान जुरूक्क उठ्यो कामजान तयारी भयो, बच्चालाई स्कुलको लागि तयारी गर्यो, फेरि साँझमा कामबाट फर्क्यो डिनर तयारी गर्यो, खुवायो, बच्चाको होमवर्क गरायो सुत्यो । यस्तै ब्यस्ततामा दिनरात, हप्ता, महिना र वर्षहरू आफ्नै तालमा निरन्तर चलिरहन्छ।

" New York city never sleeps" भन्ने स्वलोगन नै भएको शहर हो यो । कहिल्यै नसुत्ने शहरपनि कोरोनाको कारण केही समय ठप्प भयो । अनि घडीको तालमा हिड्ने जिन्दगीमा पनि त्यस्तै परिवर्तन आयो। घरबाटै कामगरे पनि अफिस जानकोलागि दौडादौड छैन । हुनत  दुईजना ससाना बच्चाहरको आमा भएकीले त्यति फुर्सदिलो समय पाउन मुश्किलै हुन्छ ।कहिलेकाही त दिन एकछिन रोकिएर समय लम्विए पनि हुने जस्तो लाग्छ । यो समयमा मेरो आमाको सारै याद आउँछ । "परेपछि मात्र थाहा हुन्छ " भन्ने एउटा भनाइ सही लागेको छ । आमा हुनुको सुखपनि दुःखपनि सबैकुरो आफुले भोगेपछि नै थाहा हुने रहेछ । यस्तो लाग्छ दुःख छ रत जीवन छ अनि यसैमा त मजा छ नत्र सुखैसुखको मात्र समय त कति नमज्जाको हुँदो होला हगि ?। जे जस्तो भएपनि समय एकनासले आफ्नै गतिमा बहिरहेको छ निरन्तररूपमा अनि जिन्दगीका अमुल्यपलहरूपनि पल्टिरहेको छ एकनास आफ्नै धुनमा ।


यो सपनाको देशमा सबै चिज छन् दुःख, सुख, पीडा, हासो, रोदन, खुशि । यी सारा चिजहरू भएपनि आफ्नो परिवार, आफन्त अनि मातृभूमिको सम्झनाले जिन्दगी अपूर्ण नै रहन्छ । सम्पूर्ण भौतिक सुविधा, अमनचयन भएपनि मनमा पूर्ण चैन भन्ने हुन्न किनकि अर्काको ठाँउ र परिबेश आफ्नो बन्नु गाह्रो नै हुँदोरहेछ । भौतिक शरिरमात्र यहाँ छ तर हरेक मनहरू आफ्नै मातृभूमिमा हुन्छ । बिहान उठ्ने बित्तिकै नेपालमा के भइरहेछ त्यताकै समाचार हेर्न हतारिन्छन् मनहरू । पराईदेशको नागरिकता बोकेरमात्र मन नफेरिने रहेछ नत पराई देशलाई मनबाटै आफ्नो बनाउनु सकिदो रहेछ ।अमेरिकामा के भइरहेछ भन्ने समाचार नेपालपछिमात्र हेर्छु । म मात्र होइन कर्मभूमिमा रहनेहरू सबैको मन यस्तै हुँदोरहेछ । हामीलाई अमेरिकाको राजनिति भन्दा नेपालमा के भइरहेको छ त्यो नै बढी चिन्ता र चासोको विषय हुन्छ । देशको सिमाना आफ्नै छिमेकी राष्ट्रबाट मिचिदा सबैभन्दा दुःखी र चिन्तित हुने हामीजस्ता बिदेशिएका नेपाली नै हुनुपर्छ । कोरानाले अमेरिकामा एक लाख भन्दा बढीको ज्यान गइसक्यो नेपालमा छ/सातजनाको ज्यान जाँदा ओहो नेपालमा अब के  हुने हो कतिले ज्यान गुमाउने भनेर चिन्ता लागिरहन्छ । यहाँको जस्तै विकास भएर रोजगारको निम्ति कुनै समस्या नहुने हो भने हामी जस्ताले बिदेशिएर सँधै मातृभूमिको सम्झनामा बिलौना गर्न पर्दैन थियो होला ।


यस्तै कुरो सोच्दासोच्दै रूकुममा भएको अन्तरजातीय प्रेम सम्बन्धले निम्ताएको बिभत्स हत्या आँखासामु नाच्न थाल्छ । २१ औ शताब्दीमा पनि तँ दलित म ठूलो जाति भनेर कसैको हत्यागर्ने कायर सोचभएका ब्यक्तिहरू प्रति खेद लागेर आँउछ । तर यो रंगभेद, जातिभेदको शिकार नेपालमात्र होईन संसारमै भयंकर पीडाजनक र हिंसात्मक भएर भड्किरहेको छ । अमेरिका जस्तो संसारको सबैभन्दा बढी मानब अधिकार भएको देशमा पनि समय समयमा यहाँका अश्वेतमाथि यहाँका श्वेतहरूले गरेका आक्रमणबाट कयौले ज्यान गुमाईसकेका छन् । सन् २०१४ मा एरिक गार्नर नामका एक अश्वेत नागरिकलाई न्युयोर्कको स्टाटन आइल्याण्डमा यहाँको श्वेत पुलिस अफिसरले घाँटी थिचेर उनको ज्यान लिएका थिए भने फेरि २०२० मा मिनियापोलिसमा जर्ज फ्लोइड नामक अर्का अश्वेतलाई अर्को श्वेत पुलिस अफिसरले घाँटी न्याक्दा उनको ज्यान गएको छ। यसैको बिरोधमा यहाँ बिभिन्न बिरोध प्रदर्शनहरू भइरहेका छन्। यस्ता प्रदर्शनहरू बिभिन्न समयमा भएपनि अहिलेको जस्ते हिंसात्मक प्रदर्शन भएको इतिसास कमै देखिन्छ ।

एकातिर विश्वलाई कोरोना माहामारीले आक्रान्त बनाईरहेको यस दुखद समयमा आफ्नो मातृभूमि नेपालमा भएको जातीय दंगा र कर्मभूमिमा भएको रंगीय बिभेदले दुबैतिरको पीडा आफैमाथि थोपरिएको महशुस हुन्छ । भलै बाँचेर कर्म गरिखाने यस ठाँउमा भड्किन थालेको हिंसात्मक गतिबिधीले सम्पूर्ण आप्रावासीहरूमा केही न केही मनोबैज्ञानिक असर परेको छ। त्यसैले जिन्दगी हरतरहले जिउने हरेक पलहरूमा मातृभूमिबाट टाढिनु गाह्रो हुँदोरहेछ । सपना होस या बिपनामा होस, जतिसुकै सुविधा सम्पन्न परिबेश नै किन नहोस आफ्नो माटोको यादले सताईरहने रहेछ । आशा गरौ कुनैदिन आफ्नै ठाँउमा रहँदा अमेरिकाको भुतले फेरि नसताओस् । संसारमा शान्ति छावोस् मानवजाति सबै एक हौ भन्ने भावनाको विकास होस् यही मेरो कामना छ ।

By Indira Chongbang 06/06/2020

Thursday, May 28, 2020

आधा बसन्तको प्रेम



हरेकदिन हररात तिमीसँगै सुस्ताउँछ यो मन । चिसो चिसो सिरेटोहरूमा पनि तिम्रो मायाको न्यायोपनले त्यसै रंगिन बनाउछ योतन ।एक्लै थिए यात्रामा लाग्थ्यो जीवन त्यसैगरि बिताइदिउँला । तर जिन्दगीको लगभग आधा बसन्तमा हिड्दै गर्दा अचानाक पाएको तिम्रो साथले नयाँ सुवास छर्न थाल्यो । नयाँ संसारमा म तिमीसित नाच्दै सपनाको संसारमा सयर गर्न थाले । मेरो खुशिको पलहरू असिमित रूपमा आकाशिरहेको छ ।यो यात्रा सँधै यस्तै
Golden Gate SF
रमाईलो बनोस् तिमीसितको साथ सँधै त्यस्तै मिठो बनोस् यही पुकार छ भगवानसँग । भौतिक दुरि जति टाढा भएपनि तिमी मेरो मनमा कति नजिक छौ हरेकपल अनि हरेक क्षण तिमी मेरो मन अनि मस्तिष्कमा छाईरहेकै हुन्छौ । यो जीवनमामात्र होईन हजार जुनिसम्मपनि तिम्रैनम्ति बाँचुला  यस्तै यस्तै सपना छ मेरो । नयाँ नयाँ पिरतिको गीतहरू साथसाथमा गाँउला अनि तिमीलाई सम्झदै सुस्तरी मुस्काइरहुँला अनन्तसम्मका लागि।

त्यो कल्पनाको रानी महल अनि त्यही सिंहासनको तिमी राजा अनि म रानी भएको त्यो पल । हाम्रो त्यो प्रेमिल रातहरू अनि हामी दुइको मिठा मिठा बातहरू । तिनै यादहरूले जीवनमा सँधै उर्जा दिइरहन्छन्। तिनै अनवरत सम्झनाहरूले सँधै जीवन बाँच्ने हौसला दिइरहन्न्छ ।जिन्दगी बाँच्ने हर योजनाहरूमा हर सपनाहरूमा तिमी नै त छौ। तिमीबिनाका सारा पलहरू भग्नावशेस हुन्, उजाडिलो पखेरू अनि बाटोबिनाको र साथबिनाको एक्लो यात्री जस्तो शुन्य लाग्छ । हामी जति टाढा भएपनि साथमै भएको आभास हुन्छ किनकि किनकि हाम्रो मनहरू सँधै साथसाथमा छन् ।



सपना बुन्नु त्यति सजिलो छैन नत थियो नै। सबैले भन्ने गर्थे १९/२० वर्षको उमेरमा पिरति गास्न नजान्नेहरू जीवनमा सँधै पछि पर्छन् । सायद त्यसैले पो मेरो कथा यस्तै भयो क्यारे । ३० औ बसन्त पार गरेपछिमात्र त्यो जम्काभेट भएको हो हाम्रो । उमेरले कसको प्रेमलाई छेक्न सक्छ न त यसले कसैलाई रोक्न सक्छ । जब म तिम्रो प्रेमको गहिराइमा डुबे तब मलाई वास्तविक जीवन जिउनुभित्रको अनुभुति थाहा भयो । जीवन साँचिकै सुन्दर लाग्न थाल्यो जब म तिमीसँगको साथमा रमाउँछु अनि त्यस्तै रमाईलो लाग्छ हामीले बिताएका ती सारा पलहरू।

कतिपय सपनाहरू अनि कल्पनाहरू वास्तबिक जस्तै लाग्छन् त्यसैले त म त्यही धरातललाई टेकेर आफै फुर्किरहन्छु, आफै नाच्छु अनि असिमित रहरहरूसँगै खुला आकासमा सयर गरिरहन्छु । म कति भाग्यमानि यो यात्रामा तिमी जस्तो प्रेमीको साथ पाउने म आफै आफ्नो भाग्य सम्झेर फुरूङ्ग हुन्छु। भगवानले मलाई ढिलो दियो तर अत्यन्त मुल्यवान र महान साथ दियो ।यसैगरि म तिमीलाई भेट्ने मिठो सपनामा रमाइरहेकी थिए । अचानक कोरोनाको हल्लाहरूले जीवन बचाउन म गाउँ फर्कनु पर्यो ।

इन्टरनेटबिनाको यो गाउ जति सुन्दर भएपनि तिमीबिना म एक्लिरहेकी छु ।त्यसपछिका मेरा सुन्दर सपनाहरू यसरी छताछुल्ल कोर्न मन लाग्यो । अब त्यो सपना साकार होला नहोला भगवानलाई नै थाहा होला । यो जनममा तिमीसँग भेट होला नहोला  त्यो पनि उनै भगवानलाई थाहा होला । तरपनि भोलिको दिन हामीले कल्पना गरेको जस्तै सुन्दर बनोस् । यो खुशि हाम्रो त्यसै नतोडियोस, तिमी जहाँ रहेपनि सुरक्षित रहनु । यो बिशाल मायाको सामु यो भौतिक दुरिले केही फरक पार्दैन तिमी सँधै मेरो साथमै छौ अनि रहिरहने छौ यो जनम मात्र होईन हजारौ जुनि सम्मलाई ।

Note: It is just an imagination of the writer

Monday, May 25, 2020

जिन्दगीका रंगहरू



जीवन भन्नु नै बिभिन्न रङ्गहरूको सम्रिशण हो । जसरी सप्तरंङ्गी रंगहरूको मिश्रण इन्द्रेणी सुन्दर हुन्छ जीवनपनि त्यस्तै बन्छ जब यो रंगिन बन्छ । विना रंगको जीवन स्वादबिनाको हुन्छ, सादा अनि खल्लो लाग्छ । त्यसैले त जीवनलाई हराभरा बनाउने अर्थात सुन्दर बुट्टा भर्ने रंगहरू नै हुन्  । जीवनका रंगपनि ऋतुहरू परिवर्तन भएजस्तै
परिवर्तन भइरहन्छ। कहिले बसन्तको हराभरा सँगै फुलैफुलको गुच्छाहरूले जीवन रंगिन्छ बन्छ त कहिले  शिशिरको पतझडसँगै जीवन रंङ्गिदिन्छ । कहिेलेकाही जीवन खुशि नै खुशिको बर्षातसँगै नाचिदिन्छ त कहिले खहरे भेलसँगै उर्लिदिन्छ । ऋतुहरूसँगै बदलिरहने जिन्दगिका अनगिन्ति पलहरू यसरी नै परिवर्तन भईरहन्छन् जिन्दगीका रङहरू।

"सोचेजस्तो हुन्न जीवन, भोगे जस्तो हुन्न जीवन " हो जिन्दगीका रंगहरूपनि यस्तै यस्तै हुन्छन् । आफ्नो चाहाना भन्दा धेरै टाढा कल्पनाभन्दा सदैब बाहिर । कहिलेकाही जीवन बिना सुगण्धको फुल जस्तै, बिना घामको बगैचा जस्तै अनि खुशिबिनाको मुस्कान जस्तै बन्छ यद्धपि हरेक क्षणलाई आत्मसाथ गर्नको अर्को बिकल्प नै हुन्न। धैर्यता र आत्मसाथले नै फेरि  नयाँ रंगहरूको पालुवा पलाउन थाल्छ, रंगिन फुलहरूको सुगन्धले जीवनमा  फेरि नयाँ जोस जागर र उत्साह दिलाउन थाल्छ ।

वास्तबमा जीवनलाई आफुले सोचेजस्तै रंग भर्ने हामी सबै रंगकर्मी हौ । आफ्नो जीवनलाई कुन रंगको प्रयोगले सुन्दर बनाउने यो हाम्रो आफ्नै कला हो, किनकि हरेकको रोजाइ आ आफ्नै हुन्छ; कसैलाई चम्किलो रंग मन पर्छ भने कसैलाइ हल्का या फिका रंग मन पर्छ । त्यसैगरि आफुलाई कुन कुराले खुशि दिन्छ भन्ने निर्क्योल पनि आफै निकाल्न सक्छौ तर यथार्त यही हो कतिपय चिजहरू हाम्रो आफ्नो पहुँच भन्दा धेरै टाढा हुन्छ ।तर कहिलेकाही यस्तो समयपनि आँउछ जसलाई हामीले चाहेर पनि बदल्न सक्दैनौ, अनि सत्यलाई स्विकारेर जीवन बाँच्न बाध्य हुन्छौ। यिनै यथार्तहरू जीवनको नरमाईलो रङ बन्छ, बिना चाहाना अनि बिना ईच्छाका क्षणहरू जीवनको तितो रंङ हुन् । यिनै परिस्थितिहरूसँग लड्नको लागि आत्मबल धैर्यता र साहस नै महत्वपूर्ण आयाम बन्छ जसले अनेकन् चुनौतिहरूलाई आत्मासाथ गर्दै अघि बढ्ने हौसलाहरू दिइरहन्छन् ।

यदि हेर्ने मन राम्रो छ भने दःखमा होस यात सुखमा होस जीवन सँधै सुन्दर बन्छ किनकि खुशि नै खुशि र सुखैसुखभन्दा सुख दुख, हासो र रोदनको समिश्रणले नै जीवन रंगिन बन्छ, जीवन भोगाइका अनेकन पाटोहरूले यसमा सुन्दरता भर्दै जान्छ ।हुनत मानिसले आफ्नो चाह अनुसार नै परिस्थितिलाई सहज बनाउँदै लान्छ, नयाँ कलाहरू सिक्दै जान्छ अनि आजको अपूर्ण जीवन भोलि फेरि पूर्णतातिर लम्कदै जान्छ । यिनै पाटोहरू अनि भोगाईहरू  नै जिन्दगीका अनगिन्ती रंङहरू हुन् जसले जीवनलाई सिंगारिरहन्छ।

यदि नियन्त्रणभन्दा बाहिरको परिस्थितिलाई जहिलेपनि जीवनको भोगाइ सम्झेर दुःखि भए जीवनको यो अमुल्य समय त्यतैतिर खेर जान्छ ।समय फेरिपनि फर्केर  आफ्नो पासमा आँउदैन अनि यो आफ्नोबशमा पनि छैन त्यसलै पश्चताप गर्ने अनि दुःखी भएर बस्ने भन्दा धैर्यता बटुलौ, साहसी बन्न सिकौ जिन्दगीको हरेकमोडहरू परिवर्तनशील छ त्यसैलाई आत्मसाथ गरौ । आजको बन्दी जीवनले चाँडै नै खुला रंगमञ्चमा नाच्न पाओस्, आजको त्रासदिपूर्ण कल्पना भोलि हासो नै हासोको मुस्कानले भरियोस । मेरो मात्र होइन यहाँ सारा संसारमा शान्ति छावोस, सबका सब जीवनमा खुशि नै खुशिको रंङले भरिपूर्ण बनोस् मेरो यही सदैब सबैमा शुभकामना ।
By Indira Chongbang

Friday, May 8, 2020

सहयात्री अनि साथ




जिन्दगी एक यात्रा अनि यस यात्राका कैयन् सहयात्रीहरू तर जन्म एक्लै, मृत्यु एक्लै । केवल साहारा जिन्दगीको केही पलका लागि । कसैको साथ बिनाको जीवन खल्लो लाग्छ एकाँङ्की लाग्छ त्यसैले त मानिस असल साथको खोजिमा भौतारिरहन्छ । जीवन जीउनलाई गाँस, बास र कपासको जरूरतभएझै साथपनि एक हो, किनकि  जिन्दगी जिउदैजाँदा समयले नै मान्छेको भावनालाई यस्तो बनाँउछ जहाँ कसैको साथबिना जीवन निरस लाग्छ,
Photo Courtesy Mukkum Limbu
एक्लो लाग्छ अनि स्वादविनाको लाग्छ । साथले नै मानिसको जीवन हराभरा बनाउँछ, संसारको नियमलाई निरन्तरता दिन्छ अनि  माया र ममताले अर्थबोध गर्छ ।यदि कसैलाई कसैको साथको जरूरत नपर्दो हो त मानव जगतको निरन्तरता नै ठप्प हुन्थ्यो होला  अनि बिस्तारै बिस्तारै  पृथ्वि एकदिन सुनसान बन्थ्यो होला। तर यो सुन्दर संसार अनि सृष्टिको निरन्तरताको स्रोत नै माया, प्रेम र बिपरित लिङ्गिप्रतिको आकर्षण हो त्यसैको प्रतिफल हो मानवजगतको निरन्तरता अनि हामी र हाम्रो भविश्य ।

यो यात्रामा  कैयन् सहयात्री भेटिन्छन् कोही क्षणभरका साथ बन्छन् त कोही जीवनभरको साथ बन्छन् । सुखमा साथदिने हजारौ हुन्छन् तर दुःखमा साथदिने कमै हुन्छन्  ।  " छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी "  भने जस्तै  जीवनलाई जीउँदै जाँदा कैयन् ठाँउमा लडिन्छ,कयौ ठाँउमा ठक्कर खाईन्छ त्यस्तो दुःखद समयमा साथ दिने साथी अनि आफन्तहरू अत्यन्तै कम नै हुन्छन् । जब कोही दुःखमा पर्छन् तब हिजोसम्म सँगै हिडेका सहयात्रीहरू पनि पराइ बन्छन्, उसलाई मैले कहि चिनेको होइन अनि देखेको पनि छैन जस्तै गर्छन् ।  विनास्वार्थ र स्वच्छ हृदयले साथ दिने अनि माया गर्नेहरू यो संसारमा कमै  मिल्छन् जो  नत दुःखमा छ भनेर पराई बन्छन्  नत भाग्न नै खोज्छन् । जिन्दगीका हरेक पाईलाहरूमा यस्तै अनुभुतिहरू स्मृतिमा थपिँदै जान्छन् ।

साथ बिबिध भएपनि जीवनसाथी खास हुन्छ अनि प्यारो लाग्छ । यसैको साथले जीवन पूर्ण बन्छ । सोचे जस्तो हुन्न जीवन  त्यसैले सोचेजस्तो अनि खोजेजस्तो सहयात्री कमैको भाग्यमा पर्छ । जीवनमा खुशि रहनका लागि होस् या त सफल बन्नको लागि होस् निस्वार्थ साथले  सँधै अहंम भूमिका खेलेको हुन्छ  । सफल व्यक्तित्वहरुको जीवनमा सदैब असल साथको अतुलनीय योगदान भेटिन्छ  । थोरैमात्र मानिस सफलताको चुचरोमा पुगेका छन् किनकि सबैको भाग्यमा सोचेजस्तो साथ मिल्न असम्भब  छ ।  सबैको चाहाना एउटै हुन्छ आफुले सोचे जस्तो, खोजे जस्तै सहयात्री मिलून्  तर भाग्य सबैको बराबर कहाँ हुन्छ र ? कसैको साथमा बिसुद्ध माया, प्रेम र आदरले भरिपूर्ण हुन्छ तर उसँग सदैब भौतिक सामाग्रीको अभाव र समस्या हुन्छ । त्यसैले त्यो चोखो माया भौतिक बस्तुको अभावमा अपूर्ण हुन्छ अनि नमिठो बन्छ । उनीहरूको सामु  अभाब र गरिबि नै मायाको खातिर पर्खाल बनेर अडिएको हुन्छ अनि त्यो   सम्बन्ध खल्लो अनि असहजतामा परिणत हुन्छ । जोसंग  प्रसस्त मात्रामा पैसा छ, भौतिक स्रोत र सामाग्री छ तैपनि कतिका मनहरू टाढै हुन्छन्  किनकि उनीहरुलाई  असल साथको मूल्य आभास नै हुन्नन् । सुरूका दिनमा असिम लाग्ने सम्बन्धहरू बिस्तारै मुल्यहिन बस्तुमा परिणत हुन्छन् । हिजोसम्म ऊ अर्थात्  उनीबिना अधुरो लाग्ने जीवन आजसम्म आईपुग्दा बितृष्णामा परिणत हुन्छ । हिजो  तिमीबिना बाच्न सक्दिन भन्ने भावनाहरु आज बरू एक्लै बाँच्छु भन्छन् किनकि  जसको साथले  जीवनमा खुशि होइन बरु पिडा दिएको हुन्छ । यसरी नै प्रगाड सम्बन्धहरू कठोर र स्वार्थी दुनियाँमा परिणत हुन्छन् जब एकले अर्काको भावना र महत्व बुझ्न सक्दैनन् ।यो दुनियाँ कोही कसैको नजरमा पूर्ण हुँदैन एकलाई मन परेको खाना अर्कोलाई मन पर्दैन, एकलाई मन पर्ने खेल अर्कोलाई मन पर्दैन  किनकि हरेक व्यक्ति  स्वयंम पृथक छन्  । प्रत्येकको जन्मलिने वातावरण, शिक्षालिने तरिका अनि आमाबाबुले दिने शिक्षा अलग अलग छन् । जबसम्म जोकोहीले  यो पृथकतालाई आत्मसात गर्न सक्दैन  तबसम्म हरेक सम्बन्धहरू फिका र सतही बन्दै जान्छन् चिनी बिनाको चिया जस्तै, स्वाद बिनाको अचार जस्तै ।

जोकोहीपनि  आफ्नो सहयात्रीबाट उत्तिकै माया, सम्मान र सहयोगको अपेक्षा गर्छन् जति जीवनको शुरूवात गर्ने क्रममा भएको हुन्छ । बिडम्बना समय बित्त्दै जाँदा मानवीय भावाना परिवर्तन हुँदै जान्छन् । जब कोही आफ्नो परिवारको चाहना र खुशि भन्दा आफ्नो इच्छा र चाहनालाई प्राथमिकता दिन्छ तब हिजोको प्रगाड सम्बन्ध खल्लो बन्दै जान्छ, अमिलो बन्दै जान्छ। हिजो गरेको बाचाहरु आज अर्थहिन बन्छ अनि जीवन सम्झौतामा चल्न थाल्छ । 

जीवनलाई सार्थक बनाउने जिम्मा सहयात्री दुबैको हुन्छ तर एकको मात्र प्रयासले न त त्यो पूर्ण बन्छ न त त्यो सम्भब नै हुन्छ। त्यसैले खुसि हुनु, सफल दाम्पत्य जीवन हुनु पुरुष र महिला दुबैको भूमिका उत्तिकै हुन्छ किनकि एकको मात्र प्रयासले यो असम्भब छ। हिजो  सम्म भौतिक दुरी टाढा हुन्थ्यो तर मन सदा साथमा हुन्थ्यो तर आजभोलि भौतिक जीवन साथसाथमा हुन्छन् तर मनहरू टाढा हुन्छन् । परिवारको खुसीमा रम्ने मनहरू नै वास्तबमा सफल सहयात्री हुन् । केवल आफ्नो खुशि र आफ्नोमात्र चाहानालाई प्राथमिकता दिनाले आज भएको शुन्दर संसार भोलि उजाड मरूभुमिमा परिवर्तन हुन सक्छ । आजभएको उज्यालो दिनहरु भोलि अधेरी रातमा परिणत हुन सक्छ । आज सबै भुलेर खुशि हुने मनहरू भोलि बेदनाले गलाउन सक्छ । यदि आफ्नोमात्रै जीवन बाँच्ने हो भने भोलि  यो गीत् जस्तै बन्छ "हु यात्री एक्लै हिड्ने अधेरी रातमा " । 
त्यसैले साथ अनि सहयात्रीको महत्व बुझ्नुहोस । तपाईहरूको सुन्दर जीवन देख्न चाहाने उही म ।

By Indira Chongbang 

Saturday, May 2, 2020

जीवन एक फुल



जन्म अनि मृत्यु यी दई शब्दहरू एक अर्काको परिपुरक हुन्, कसैले यिनीहरूलाई दिदीबहिनी पनि भन्छन् । कसैको जन्मसँगै मृत्यु धुर्ब सत्य हो । जीवनमा कुनै कुराको निश्चित हुन्न जो निश्चित छ त्यो हो केवल मृत्यु । यो यथार्थ हो एकदिन जानु छ टाढा दुनियाँलाई सदाको लागि छाडेर तैपनि यी आकाश, यो धर्ति, यी हावा अनि माटो सबकासबसँग नजानिदो साईनो लगाउँछौ, प्रिती बसाँउछौ अनि रमाउछौ, हाँस्छौ बाँचुञ्जेलसम्म ।भोलिको
सत्यलाई बिर्सिएर सारा यो धर्ति अनि आकास केवल मेरो निम्तिमात्र बनेका हुन् भन्ने घमण्डीपनि गर्छौ  हामी। वास्तबमा जीवन एक फुल हो, जुन फुलको बिरूवाजस्तै धर्तिमा आँउछ, घमक्क फुल्छ, बासनाको सुगण्धले संसारलाई मोहित बनाउँछ अनि केही समयपछि त्यही सुन्दर फुल सँधैको लागि ओइलाएर झर्छ । त्यस्तै यो जीवनमा जन्मनु,  रमाउनु अनि सदासदाको लागि एकदिन यस रमाइलो संसारबाट बिदा लिनु, फुलकै जस्तो चरण हो ।

यो सुन्दर संसारमा आएर सयर गर्ने हामी भाग्यमानि प्राणि हौ, किनकि यी सारा खुशिका पलहरू फुलको सुन्दरताको अनुभुति जस्तै हो । हामीमा भएको मिठो र रमाइलो क्षणहरूले नै जीवन अर्थपूर्ण बन्छ, अनि भोलिका लागि सम्झनाका तरेलिहरू बन्दै जान्छन्  ।जब हामी यस जगतबाट बिदा लिन्छौ तब  केवल बाँच्नेसँग हाम्रो सम्झना अनि बिताएका उही रमाइला पलहरूमात्र हुन्छन् । यस जगतमा मानव उच्चकोटीको विकसित जीव भएकै कारण जीवन यति सुन्दर भएको छ। बिज्ञान र  प्रविधिको बिकासले हामी खुल्ला आकाशमा  सयर गर्न पाएका छौ, पानीमाथि बहन गर्न पाएका छौ अनि संसारको जुनसुकै कुनामा छरिएर रहेपनि आफ्ना प्रियजनहरूसँग दुःख सुख साटासाट गर्ने मौका पाएका छौ । सायद त्यसैले त हामी सबैभन्दा भाग्यमानि छौ, उच्चस्थानमा छौ, सुखि छौ अनि खुशि छौ ।

यसैले म भन्छु जीवन एक फुल हो। यो यस्तै सुन्दर छ यस्तै मुल्यवान छ अनि यस्तै हराभरा पनि छ । मैले यसो भनिरहँदा कतिको मनमा कैयन् प्रश्न पनि तेर्सिएला "तँ सुखि छस्, खुशि छस् तर तेरो जीवनसँग हामीलाईपनि तुलना नगर "। मैले आफ्नोमात्र कुरा गरिरहेकी छैन, सारा मानवजातिको जीवनलाई इङ्गित गरिरहेकि छु । किनकि हाम्रो आँखाले देख्ने खुशि, कसैको जीवन अनि आफैले भोगेको आफ्नो जीवनमा आकाश र जमिनकोफरक छ । सँधै अरूको जीवन सुन्दर देख्ने आँखाहरूले सँधै आफ्नो जीवन खोक्रो, निरस अनि बिना सुगन्धको देख्छौ तर यो धर्ति, यो आकास अनि प्रत्येकले फेर्ने सासहरू एकै हो भन्ने बिर्सन्छौ । दुनियाँले पाएको साझा यो चौतारी हो यो धर्ति यहीमा कोही जीवनलाई रंगिन बनाएर रमाउँछन्, नाच्छन्, रमाईलो गर्छन् त कोही सिर्फ दर्शक भएर बस्छन् । त्यसैले हामी कलाकार हौ आआफ्नो कला अनुसार नै जीवन चलाउछौ त कोही दर्शक भएर नै जीवन बिताउँछौ ।  जीवनलाई फुल देख्ने या त काँडा त्यो सबैको आ आफ्नो आँखा, बुझाई, सोचाई अनि जीउने तरिकामा भर पर्छ । 

दुःख र पीडालाई मात्र सम्झिएर जब हामी दुःखी बन्छौ तब जीवन काँडैकाँडाको जंघारमा अड्किएको महसुस हुन्छ तर जब हामी सम्पूर्ण व्यथाहरू भुलेर नयाँ सपना देख्छौ खुशि नै खुशिको तब हामीलाई जीवनको वास्तविक मोह थाहा हुन्छ । दुःख, पीडा र बेदनाबिनाको जीवन सायदै कसैको होला । यसो हुँदैमा सबकासब मानिस काँडैकाँडाको बीचमा रूमल्लिएका हुँदा हुन् निरासाको प्यालामा अड्किएका हँदा हुन् । तर वास्तवमा त्यस्तोछैन यहाँ, किनकि आज हजारौ कठिनाईसंग मुकाविला गर्दै गर्नेलेपनि भोलिको सुन्दर सपना लिएर जीवनलाई फुल बनाउँछन्,आजको दुःखलाई भुल्छन् अनि नयाँ सपनासँग रमाउँछन्, जीवनलाई नयाँ फुलबारीमा डोर्याउँछन् अनि फुलैफुलको संसारमा सजाउँछन्। उनीहरू नै हुन् जसले जीवनलाई एकदिन सफलताको शिखरमा पर्याँउछन् ।

त्यसैले जीवनलाई फुल बनाउने या त काँडा तँपाई हाम्रै हातमा छ । यो सुन्दर जीवन सजाउनको लागि न त सोचे जस्तो अमनचयन ,या त धन दौलतले भुमिका खेल्छ न त नाम र पद्धविले नै । जब मन सफा हुन्छ हामीले हेर्ने संसार सुन्दर बन्छ, धर्ति हराभरा  लाग्छ अनि जीवन फुल जस्तै रमाईलो लाग्छ । त्यसैले हरेक अभाव र कठिनाईहरूमा पनि जब हामी धैर्य गर्छौ सबैलाई माया र प्रेम गर्छौ हामीभित्रको तनाब र दुःखहरू आफै कम भएर जान्छ । त्यसैले यो संसार सबैका लागि सुन्दर बनाउनका लागि म होइन हामी भनेर सोचौ । यो हावा, यो धर्ति, यो माटो मेरो लागिमात्र होईन तर हामी सबका लागि हुन् । हामी सबैले पाएको अधिकार समानरूपमा प्रयोग गरौ । सबैमा माया प्रेम र सद्भावको भावना जोगाऊ  । अरूको सुखलाई देखेर हतोत्साही हुने होईन अरूको दुःखको मलम बन्ने कोसिस गरौ । तब हामी जीवनलाई सँधै हराभरा फुलैफुलको बगैचामा पाउने छौ अनि त्यही सुन्दर बगैचाको मालि भएर जीवनभर सुखैसुख अनि खुशि नै खुशि भित्र बाँच्न सक्नेछौ जसलाई न त कसैले खोसेर लान सक्छ न त चोरेर नै लान सक्छ । The end

By Indira Chongbang
05/02/2020

Sunday, April 26, 2020

बन्द परिवेशभित्रका असिमित मनहरू



भौतिक शरीर एउटा फ्लायटभित्र कैदीजस्तै बाँचेको महिना दिनभन्दा बढी भयो तर मन भने असिमितरूपमा बहिरहन्छ । यो चञ्चल आकासमा उडिहिड्ने बादलजस्तै फैलिएर संसारको यात्रामा निस्करहन्छ । पानीजस्तै बहेर समुद्रलाई भेट्ने चाहराख्छ अनि अस्थिर भएर हावासँगै बहकिरहन्छ । हरेकदिन यहाँ यति त्यहाँ त्यतिको
मृत्यू भयो भन्ने समाचारसँगै नजानिदो पाराले मनमा त्रासभित्रिन्छ । मृत्यू सबैको लागि भयानक वस्त्र अनि कसैको नियन्त्रणभन्दा बाहिरी शक्त्ति ।सायद कसैको जीवन कसैसँग नजोडिएर एकाङ्की भएको भए मर्नदेखि
डर नलाग्ने थियो होला यस्तै लाग्छ कहिलेकाही । यथार्तमा मान्छे जोकोही  मर्न चाहदैन एकदुई अपबाद बाहेक ।किनकि भलै एक्लो जीवन किन नहोस सबैलाई आफ्नो जीवन प्यारो लाग्छ, धेरै बाँचौ अनि यी संसारका सारा सुखदुःख अनुभव गर्न सकौ । सबैको सोच यस्तै हुन्छ त्यसैले मुत्यूसँग सबै डराउँछन् म मात्र एक्लो हुँदै होइन, आफै निचोड्मा  पुग्छु  ।


" मर्न यहाँ गाह्रो हुन्न " भन्ने फत्तेमानको गीतको आसाय यहाँ फल्प भएजस्तो लाग्छ किनकि मर्न त होइन यसको कल्पना गर्नसम्म यहाँ कठिन हुँदोरहेछ । सबैसँग जीवनमा बाँच्ने रहरहरू छन्, जीवनलाई हराभरा बनाउने सपनाहरू छन् अनि आफ्नो दायित्य र कर्तब्य पुरा गर्ने सोचहरू छन् । यो बन्दी जीवनमा जति नै ब्यस्त जीवन बाँचेपनि मृत्यूले टाढैबाट  चिहाईरहेको आभास हुन्छ, थाहै नपाई यो डर सुटुक्कै मनभित्र प्रवेश गरिरहन्छ। हप्ताको पाँचदिन मुक्कुमको अनलाइन क्लास अनि आफ्नोपनि केही अनलाइन काम, घरको सरसफाई, पकाउ, खुवाई यतिधेरै ब्यस्त रहेपनि कहिलेकाहीभने उकुसमुकुस लाग्छ । कुनै कामै नभएको फुर्सदिलो र बेकम्मा भएको महसुस हुन्छ । अहिले यहाँ म मात्र होइन संसारमै सबैजना घरभित्रको बन्दी जीवन बाँचेका छन् त्यसैले संसारमा सबैले भोगेका साझा समस्या हन् भन्ने सोचले आफैलाई सम्झाउँछु । यो समयमा बाल्यकाल देखिका या लामो समयसम्म सम्पर्कै नभएका साथीहरूसँग पनि फोनमा या मेसेन्जरमा भेट हुने अवसर चाँहि  जुरेको छ । न्यूयोर्क कोरोना भाइरसको इपिसेन्टरको कोपनि इपिसेन्टर भएकोले म न्यूयोर्कमा छु भनेर थाहा पाउने संसारभर छरिएर रहेका आफन्त र साथीहरू मलाई सम्झेर फोन गर्छन्, म्यासेज गर्छन् मेरो हालखबर बुझ्छन् ।यस अर्थमा भने खुशि लाग्छ आफन्त अनि साथीहरूले मलाई सम्झिरहेका छन् भन्ने सोचले आफै फुर्किन्छु, अनि असिमितरूपमा खुशिपनि हुन्छु । नकरात्मक भित्रको सकरात्मक पाटोपनि यस्तै रहेछ। जहिले हतार हतार काम जाउ आउ, आरामको लागि अनि बच्चाहरूसँग समय बिताउनको लागि शनिबार र आईतबारको प्रतिक्षा गर । जहिले घरमा बसेपछि त्यस्तो ब्यस्तताबाट छुटकारा मिलेको छ अनि सानो छोराले मनलाग्ने बित्तिकै आमाको काखमा आएर बुबु खान पाएको छ ।जुन उसले कम्तिमा दश घण्टाको प्रतिक्षा गर्नुपर्थ्यो । यिनै सकारात्मक पाटोहरूलाई सम्झिएर आफुले आफैलाई सान्त्वना दिने कोशिस गर्छु ।

म मेरा आफन्त र साथीहरूको नजरमा सँधै साहसि छु । मैले आफुलाई कमजोर महसुस गरेर कुनै म्यासेज अर्थात फेसबुक पोष्टमात्र गर्यो भनेपनि कसैलाई मन पर्दैन । अरूलाई सँधै सकारात्मक होउ भनेर सन्देश बाँड्ने तिमी चाँहि खोई ? यस्तै प्रश्नको बर्षा हुनथाल्छ । म मानसिकरूपमा बलियो छु भनेर बिश्वास गर्ने अनि हौसलादिने मेरा सम्पूर्ण साथीहरू अनि आफन्तहरूसँग आभारी छु कम्तिमा म जस्तो छु, त्यो आफ्नो ठाँउमा छ तर उनीहरूको नजरमा म सँधै बलियो अनि साहसि हुनपाउँदा आफै नतमस्तक बन्छु ।मलाई धेरैजनाले भन्ने गर्थे यिनी त छोरा भएर जन्मिनुपर्ने हो तर छोरी भइन्। छोरा मान्छेमात्र आँटिलो हुन्छ भन्ने जनविश्वासका कारण यो प्रसंग आएको हो भन्ने मलाई पूर्ण जानकार थियो तर मेरो बाबा सँधै छोरी र छोरा समान हुन् भनेर सोही हिसावले व्यवहार गर्नुहुन्थ्यो । बाबाको त्यो सोचाईमा कहिले पश्चताप हुन दिईन । आफ्नो पारिवारिक जीवन सुरु गर्नु अगाबै सकेसम्म बाबाआमा र परिवारको निम्ति केही गर्नुपर्छ  भन्ने सोचलाई आफ्नो क्षमताले भ्याएसम्म गरे अनि गर्दै आएकी छु । वास्तबमा म आफैसँग यस अर्थमा गर्ब गर्छु किनकि जीवनका हरेक मोडहरूमा आईपरेका कैयन् कठिन परिस्थितिसँग लड्दै, सामाना गर्दै अनि बिसम समयसँग लुकामारी खेल्दै अघि बढीरहेकी छु ।दुःख र चुनौतिहरूले सँधै जीवनमा पाठ सिकाएको छ अनि यो सिक्नेक्रम अझैपनि धेरै बाँकी छ । आशा छ जतिपनि कठिनाईहरू आइपर्छन् सबैले केही न केही पाठ सिकाएर जान्छन् अनि म सिकिरहनेछु जबसम्म म यस धर्तिमा रहिरहने छु ।

सोचे जस्तो जीवन भने कसैको हुन्न रहेछ। विवाह नगरि बसेकाहरू सोच्छन् आहा बिबाहितहरूको जीवन कति रमाइलो होला, त्यसैगरि बिबाहित भएकाहरू बच्चा भएकाहरूलाई देखेर आहा उनीहरूको जिन्दगी  । तर वास्तवमा नियाल्दै जाँदा कसैको जीवन आहा नहुँदो रहेछ । सबैसँग आ आफ्नै किसिमको समस्या अनि आआफ्नै किसिमको दुःख र भोगाई हँदोरहेछ। फरक त यति रहेछ कोही कैयन् दुःखलाई पनि हाँसिहाँसि पचाइदिने कोही भने दुःखी भएरै जीवन बिताईदिने । आफ्नै जीवनपनि यस्तै लाग्छ तर सबै दुःखलाई भुलेर मलाई भने जीवनमा रम्न मन लाग्छ, नाच्न मन लाग्छ अनि हाँसिहाँसि जीउन मन लाग्छ। 

लामो समयपछि यो समरमा नेपाल जाने योजना थियो कोरानाले त्यो सपना पुरा हुन पाएन । यतिमात्र होइन अन्य कैयन् सपनाहरूलाई पनि यसले पछि धकेलिरहेको छ । बाँचिएछ भने सबका सब मनका चाहानाहरू पुरा गरौला तर जीवन नै नरहे के नै होला । त्यसैले अहिलेको बिसम परिस्थितिमा बाँच्नै सबैभन्दा महत्वपूर्ण छ सबै बाँचौ कसैलेपनि समय आउनुअघि बिदा लिन नपरोस् यही कामना गर्छु । कहिलेकाही त कुनै नौलो कामको शुरूवात गरौ झै लाग्छ त्यतिनै बेला झल्यास मरिने पोहोकि भन्ने शंकापनि लाग्छ । ७३ बर्षीय पाको आमालाई नेपालमा फोन गर्छु मनमा लागेको कुरोहरू सुनाउॅछु ।आमा म भन्दा हिम्मतिलो भएर केही पनि हुँदैन नआत्तिकन बस्नु भन्दै सम्झाउनु हुन्छ त्यसैले फेरि म नयाँ साहस बटुल्दै दैनिक जीवनमा व्यस्त हुन्छु । मन मन्दिरको भगवानलाई दिनमा दुईपटक पुकार गर्छु भगवान यो समस्या चाँडो भन्दा चाँडो समाधान गरिदिउ अनि मानवजगतलाई शान्तिपूर्वक यो दुईदिनको जीवन बाँच्न देउ यही पुकार छ मेरो सबैको लागि सँधैको लागि ।
By Indira Chongbaang
04/26/2020

Wednesday, April 22, 2020

खुशिको खोजि


जीवनमा सबै खुशि चाहान्छन्, दुःखी भएर बाँच्न चाहाने यो दुनियाँमा देख्न धेरै कठिन हन्छ । तर खुशि कहाँ छ ? कता पाइन्छ ? जसको खोजिमा कसैको सारा जीवनको उतारार्ध बितेको छ, कसैको भोक तिर्खा हराएको छ तथापि यो उडेको चरो झै अकासिएर उडिरहन्छ । यसलाई भेट्नको लागि कयौको त्याग तपस्या त्यतिकै खेर जान्छ अनि बिना खुशि जीवनको अन्त्य हुन्छ ।
Finding the happiness within

यसरी खुशिको खोजिमा हर प्रयत्न गर्नेहरू यहाँ कयैन् छन् । उदाहरणको लागि जो बेरोजगार छन् उसको मनमा हन्छ जब मसँग आफूले चाहेजस्तो जागिर हुनेछ तब म खुशी हनेछु । जोसँग जागिर छ तर घर छैन उसको मनमा हन्छ जब मसँग मैले सोचेजस्तो सुन्दर घर हुनेछ त्यसपछि म धेरै खुशि हनेछु । जब घर हुन्छ फेरि याद आँउछ भने जस्तो कार किन्न त अझै बाँकी छ । जब मसँग सोचे जस्तो कार हुन्छ तब खुशि हुन्छु । यसरी खुशीलाई आफ्नो भौतिक आवश्यकतासँग तुलना गर्दै अघि बढ्छन् मान्छे  तर यो तिनैको पछिपछि भागिरहेको हुन्छ । खुशिलाई आफ्नो आवश्यक साधनसँग तुलना गर्र्नाले यो झनझन् टाढा बनिरहेको हुन्छ  किनकि मानवीय आवश्यकता एक पछि अर्को गर्दै कहिले नटुङ्गिने यात्रामा अघि सरिरहन्छ । यसपछि खुशी हुन्छु, त्यसो भएपछि खुशी हुन्छु भन्ने सारा सपनाहरू पनि त्यसैगरि निरन्तरूपमा भागिरन्छ ।

यदि भौतिक सामाग्रीलाई खुशिसँग जोड्ने हो भने संसारका सबैभन्दा  धनाड्य ब्यक्तिवरू जेफ बेजोज, बिल गेटस, ज्याकमा आदिजस्ता हुनुपर्ने हुन् । बिडम्बना उनीहरूपनि त्यही खुशि प्राप्तिको लागि हरदिन दौडिरहेका छन् । त्यसो भए संसारमा को होला जो आफ्नो जीवनमा खुशि नै खुशिको अनुभूत गर्न सक्छ ? के संसारका शक्तिशालि मानिने राष्ट्र अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम हन् ? उनी त यस्तो खुशि ब्यक्ति कहलिनै सक्दैनन् किनकि हरेकदिन कसै न कसैलाई रिसाएर गालि गर्दै ट्विट गरिरहेका हुन्छन् ।

संसारमा जोसँग पैसा छ उपनि खुशि छैन, जोसँग विश्वमा तहल्का हल्लाउन सक्ने शक्ति छ उपनि खुशि छैन । यसरी खुशिको खोजिमा दौड्दा दौड्दै जीवनकोअन्तिम अवश्थामा पुगिसकेको कसैलाई आभास नै हुन्न किनकि खुशिलाई मानिसले गलत अर्थमा बुझेका हुन्छन् । खुशिलाई हामीले आफनो भौतिक स्रोत साधन या त मान पधविसँग जोडेर हेर्छौ । जब एकपछि अर्को आवश्यकता बड्दै जान्छ त्यसैगरि हाम्रो खुशि पनि टाढा टाढा भागिरहेको हुन्छ ।

वास्तबमा भन्ने हो भने खुशि भन्ने शब्द नै यस्तो प्रवल शक्ति हो जसलाई करोडौ रूपैयाँमा पनि खरिद गर्न सकिँदैन । यो नत कुनै भौतिक ऐस आरम, न कुनै बिलासी जीवन ले खरिद गर्न सकिन्छ। तर यो त्यतिकै सरल अनि सहज पनि छ जसलाई बिना पैसा र पदवीपनि आर्जन गर्न सकिन्छ ।झुपडिमा बसेर पनि कोही स्वर्गको आनन्दमा सजिलै सयर गर्न सक्छन् र संसारकै खूशी भएर पनि बाँच्न सक्छन् । तर महलमा बसेर बिलासी जीवन जीउनेका लागिपनि खुशि टाढा भागिरहन्छ किन ? किनकि जीवनमा केही नभएरपनि कसैले जीउनु जानेको हुन्छ, आफूसँग भएको चीजहरूसँग सन्टुष्टी  हुन्छ , अनि खुशि त्यही मौलाएको हुन्छ । तर भौतिक साधन र बिलासी जीवनले मात्र खुशि दिन सक्दैन यदि  जीवन जीउन जानेन भने ।

त्यसैले खुशि कुनै भौतिक साधनसँग नभएर हरेकको मनको बिशाल बगैचामा उब्जिन्छ जब त्यस शुन्दर फुलबारीमा माया, प्रेम,सद्भभाब र आत्मसम्मानको सुगण्ध फैलिन्छ । जीवन जति सुन्दर  भएपनि खूशिको अभाबमा शिशिरको उजाडिलो पतझर झै बनिदिन्छ तर हामी संसारलाई  जब माया र प्रेमले हेर्छौ त्यही सँसार स्वर्ग बन्छ, त्यहीभित्र खुशी मौलाउन थाल्छ, रम्न थाल्छ, झाँगिन थाल्छ । भौतिक आवश्यकताले दिने खुशी सँधै अस्थायी हुन्छन् किनकि आज भएको रूपैया भोलि सकिन सक्छ आज भएको पदबि भोलि खोसिन सक्छ ।तर मन सुन्दर भयो भने यी सुन्दरताबाट पलाएको खुशिमात्र स्थायी हुन्छ जसलाई न त कसैले खोस्न सक्छ नत कसैले चोर्न नै सक्छ । त्यसैले खूशिलाई बाहिरी दुनीयाँमा खोजेर पाईन्न यो त केवल आफूभित्र अनि आफ्नै मनसँग जोडिएको हुन्छ ।जब हामी आफ्नोमात्र सुखलाई नभई हामी र हाम्रो सुखलाई हेर्छौ तब खूशि आफै जन्मन थाल्छ आफैभित्र मौलाउन थाल्छ र नयाँ पालुवालिएर जीवन रंगिन बनाउन थाल्छ ।

त्यसैले जीवनमा सफल हुन्छु त्यपछि मात्र धेरै खूशि हुन्छु भन्ने भ्रम कसैमा लागेको छ भने आजैदेखि त्यसलाई भूलिदेउ । तिमीसँग जेछन् त्यसैमा सन्तुष्टी हुन सिक, सबैलाई प्रेम गर, अरूको दःखमा मलम लगाउ, कसैले गरेको गल्तिलाई क्षमागर । यसैभित्र जिन्दगीका सारा खूशिहरू मिल्नेछन् जुन खुशि नत पैसाले किन्न सकिन्छ न त कुनै मान पदवि र ईज्जतले नै दिन सक्छ ।

Indira Chongbang 

04/01/2020