जीवन एक फुल
जन्म अनि मृत्यु यी दई शब्दहरू एक अर्काको परिपुरक हुन्, कसैले यिनीहरूलाई दिदीबहिनी पनि भन्छन् । कसैको जन्मसँगै मृत्यु धुर्ब सत्य हो । जीवनमा कुनै कुराको निश्चित हुन्न जो निश्चित छ त्यो हो केवल मृत्यु । यो यथार्थ हो एकदिन जानु छ टाढा दुनियाँलाई सदाको लागि छाडेर तैपनि यी आकाश, यो धर्ति, यी हावा अनि माटो सबकासबसँग नजानिदो साईनो लगाउँछौ, प्रिती बसाँउछौ अनि रमाउछौ, हाँस्छौ बाँचुञ्जेलसम्म ।भोलिको
सत्यलाई बिर्सिएर सारा यो धर्ति अनि आकास केवल मेरो निम्तिमात्र बनेका हुन् भन्ने घमण्डीपनि गर्छौ हामी। वास्तबमा जीवन एक फुल हो, जुन फुलको बिरूवाजस्तै धर्तिमा आँउछ, घमक्क फुल्छ, बासनाको सुगण्धले संसारलाई मोहित बनाउँछ अनि केही समयपछि त्यही सुन्दर फुल सँधैको लागि ओइलाएर झर्छ । त्यस्तै यो जीवनमा जन्मनु, रमाउनु अनि सदासदाको लागि एकदिन यस रमाइलो संसारबाट बिदा लिनु, फुलकै जस्तो चरण हो ।
यो सुन्दर संसारमा आएर सयर गर्ने हामी भाग्यमानि प्राणि हौ, किनकि यी सारा खुशिका पलहरू फुलको सुन्दरताको अनुभुति जस्तै हो । हामीमा भएको मिठो र रमाइलो क्षणहरूले नै जीवन अर्थपूर्ण बन्छ, अनि भोलिका लागि सम्झनाका तरेलिहरू बन्दै जान्छन् ।जब हामी यस जगतबाट बिदा लिन्छौ तब केवल बाँच्नेसँग हाम्रो सम्झना अनि बिताएका उही रमाइला पलहरूमात्र हुन्छन् । यस जगतमा मानव उच्चकोटीको विकसित जीव भएकै कारण जीवन यति सुन्दर भएको छ। बिज्ञान र प्रविधिको बिकासले हामी खुल्ला आकाशमा सयर गर्न पाएका छौ, पानीमाथि बहन गर्न पाएका छौ अनि संसारको जुनसुकै कुनामा छरिएर रहेपनि आफ्ना प्रियजनहरूसँग दुःख सुख साटासाट गर्ने मौका पाएका छौ । सायद त्यसैले त हामी सबैभन्दा भाग्यमानि छौ, उच्चस्थानमा छौ, सुखि छौ अनि खुशि छौ ।
यसैले म भन्छु जीवन एक फुल हो। यो यस्तै सुन्दर छ यस्तै मुल्यवान छ अनि यस्तै हराभरा पनि छ । मैले यसो भनिरहँदा कतिको मनमा कैयन् प्रश्न पनि तेर्सिएला "तँ सुखि छस्, खुशि छस् तर तेरो जीवनसँग हामीलाईपनि तुलना नगर "। मैले आफ्नोमात्र कुरा गरिरहेकी छैन, सारा मानवजातिको जीवनलाई इङ्गित गरिरहेकि छु । किनकि हाम्रो आँखाले देख्ने खुशि, कसैको जीवन अनि आफैले भोगेको आफ्नो जीवनमा आकाश र जमिनकोफरक छ । सँधै अरूको जीवन सुन्दर देख्ने आँखाहरूले सँधै आफ्नो जीवन खोक्रो, निरस अनि बिना सुगन्धको देख्छौ तर यो धर्ति, यो आकास अनि प्रत्येकले फेर्ने सासहरू एकै हो भन्ने बिर्सन्छौ । दुनियाँले पाएको साझा यो चौतारी हो यो धर्ति यहीमा कोही जीवनलाई रंगिन बनाएर रमाउँछन्, नाच्छन्, रमाईलो गर्छन् त कोही सिर्फ दर्शक भएर बस्छन् । त्यसैले हामी कलाकार हौ आआफ्नो कला अनुसार नै जीवन चलाउछौ त कोही दर्शक भएर नै जीवन बिताउँछौ । जीवनलाई फुल देख्ने या त काँडा त्यो सबैको आ आफ्नो आँखा, बुझाई, सोचाई अनि जीउने तरिकामा भर पर्छ ।
दुःख र पीडालाई मात्र सम्झिएर जब हामी दुःखी बन्छौ तब जीवन काँडैकाँडाको जंघारमा अड्किएको महसुस हुन्छ तर जब हामी सम्पूर्ण व्यथाहरू भुलेर नयाँ सपना देख्छौ खुशि नै खुशिको तब हामीलाई जीवनको वास्तविक मोह थाहा हुन्छ । दुःख, पीडा र बेदनाबिनाको जीवन सायदै कसैको होला । यसो हुँदैमा सबकासब मानिस काँडैकाँडाको बीचमा रूमल्लिएका हुँदा हुन् निरासाको प्यालामा अड्किएका हँदा हुन् । तर वास्तवमा त्यस्तोछैन यहाँ, किनकि आज हजारौ कठिनाईसंग मुकाविला गर्दै गर्नेलेपनि भोलिको सुन्दर सपना लिएर जीवनलाई फुल बनाउँछन्,आजको दुःखलाई भुल्छन् अनि नयाँ सपनासँग रमाउँछन्, जीवनलाई नयाँ फुलबारीमा डोर्याउँछन् अनि फुलैफुलको संसारमा सजाउँछन्। उनीहरू नै हुन् जसले जीवनलाई एकदिन सफलताको शिखरमा पर्याँउछन् ।
त्यसैले जीवनलाई फुल बनाउने या त काँडा तँपाई हाम्रै हातमा छ । यो सुन्दर जीवन सजाउनको लागि न त सोचे जस्तो अमनचयन ,या त धन दौलतले भुमिका खेल्छ न त नाम र पद्धविले नै । जब मन सफा हुन्छ हामीले हेर्ने संसार सुन्दर बन्छ, धर्ति हराभरा लाग्छ अनि जीवन फुल जस्तै रमाईलो लाग्छ । त्यसैले हरेक अभाव र कठिनाईहरूमा पनि जब हामी धैर्य गर्छौ सबैलाई माया र प्रेम गर्छौ हामीभित्रको तनाब र दुःखहरू आफै कम भएर जान्छ । त्यसैले यो संसार सबैका लागि सुन्दर बनाउनका लागि म होइन हामी भनेर सोचौ । यो हावा, यो धर्ति, यो माटो मेरो लागिमात्र होईन तर हामी सबका लागि हुन् । हामी सबैले पाएको अधिकार समानरूपमा प्रयोग गरौ । सबैमा माया प्रेम र सद्भावको भावना जोगाऊ । अरूको सुखलाई देखेर हतोत्साही हुने होईन अरूको दुःखको मलम बन्ने कोसिस गरौ । तब हामी जीवनलाई सँधै हराभरा फुलैफुलको बगैचामा पाउने छौ अनि त्यही सुन्दर बगैचाको मालि भएर जीवनभर सुखैसुख अनि खुशि नै खुशि भित्र बाँच्न सक्नेछौ जसलाई न त कसैले खोसेर लान सक्छ न त चोरेर नै लान सक्छ । The end
By Indira Chongbang
05/02/2020
0 comments:
Post a Comment