मान्छे बिनाको मान्छे म ( एक परित्यत्ता को कथा )
हजारौ मान्छेकोभिडको शहर हो न्युयोर्क शहर, मान्छे मान्छेको भिडमा म हु एक परित्यक्ता। बिना मान्छेको एक मान्छे म। हो, हजारौ भिडमा पनि म हराइरहेकी छु, केवल आफ्नै संसारमा, आफ्नै दुनियाँमा अनि आफ्नै रोजाइको जीवनमा। जिन्दगी जसरी बाच्यो त्यसरी नै बाँचिने रहेछ, जसरी भोगियो त्यस्तै भोगिने रहेछ। जन्मदा एक्लै जन्मिए, अबस्य पनि एक्लै मर्नु छ एकदिन। तैपनि जन्मपछिका आफन्त र परिवारका साथहरुले संधै एउटा हलचल बनाउदो रहेछ। कसैको साथले, परिवारको साथले अनि साथीसंगीको साथले जीवन रंगिन बन्दो रहेछ।
हो त्यसैले त यो सात समुद्र पारीको देशमा आफ्नै खुसीको संसारमा बांचिरहंदा मलाई त्यहि बालापनको यादहरूले साताउछ जहाँ भाइ, बहिनि, दिदी, आमाबाबा लगायतका सदस्यहरू संगै बसेर खाएको, संगै हासेको, सामुहिक उदेश्यको लागि बाचेको जीवन। मेरो पनि यो रहर त होइन यो बिरानो भूमिमा एक्लै बाच्ने। जिन्दगीले जता डोर्यायो त्यतै डोरिनु पर्दो रहेछ, नचाहँदा नचाहँदै एक्लै पनि रमाउनु पर्दो रहेछ। कसको रहर हुन्न जिन्दगिलाइ हराभरा बनाउने, कसको चाहना हुन्न जीवनमा संधै साथ् दिने, माया दिने कोहि होस् सदाको लागि। तर रहर र चाहनाले मात्र जिन्दगि कहाँ बन्दो रहेछ यो त जता बहन्छ आफ्नै तालमा अनि आफ्नै सुरमा बहँदो रहेछ।
लगभग आधा जिन्दगी त यसरी बिताए वाकी जिन्दगी पनि यसैगरी बिताउन सक्छु , आफ्नो खुसीको लागि आफै हास्न सक्छु, आफ्नो आबश्यकताको लागि आफै कर्म गर्न सक्छु। जिन्दगी जे छ त्यसैमा गर्ब गर्छु, त्यसैमा आफुलाई पूर्ण देख्छु। तर जबजब कहिले काही यो शरीरमा कुनै पिडा आउछ त्यहि बेला कसैको सम्झना एकदमै आउछ, सायद उ मेरो साथमा भएको भए, कम्तिमा तातो पानि दिउ, तिमीलाई भोक लाग्यो होला हगि, आज संच भएन होला हो ? आदि आदि प्रश्न हरु मेरो निम्ति हुन्थ्यो होला। हो मेरो कल्पनाको साथी, भावनाको साथि मेरो साथमा भएको भए कम्तिमा म एक्लो हुँदाको यो अशक्त अवस्थामा यिनै प्रश्नहरूले पनि कम्तिमा सहानुभूति मिल्थ्यो होला ? कम्तिमा म एक्लो भएको बेला एक शब्द मात्र बोलेको भए पनि मलाई कति ठुलो साहास आउथ्यो होला हगि?
हो हिजो आज जीवनको यो आधा बसन्तको संघारमा यिनै प्रश्नहरु संग बाचिरहेकी छु। रहर र चाहना अनुसारको जिन्दगी भईदिएको भए सायद अहिले सम्म मेरो पनि जीवनमा मलाई संधै माया गर्ने कुनै जीवन साथी हुन्थे होलान्, आमा भन्ने मायालु भाकाहरु हुर्कंदै हुन्थे होला। तर सब त्यो त कल्पनाको एउटा सानो बिम्ब मात्र बन्यो मेरो जीवनमा किनकि मलाई कसै संग माया प्रिती गास्ने न त अवसर नै मिल्यो न त कुनै भने जस्तै सपनाको राजकुमार नै मिल्यो। ओहो मेरो जीवनमा कोहि नआएको भने अवस्य होइन तर खोइ किन मैले भने जस्तो, सोचे जस्तो मच्न्छे भने आएको होइन। कोहि आयो एकदम घमण्डी, कोहि आयो झुट बोल्ने, कोहि एकदमै माया गर्ने पनि आए तर आफुलाई आफ्नै जातको चाहिने विजातको मान्छे। वास्तबमा किन हो किन मान्छे हरु आएर पनि गए तर पनि म सदा मान्छे बिनाको एक्लो मान्छे संधै एक्लो अनि आफु, आफ्नै संसारमा बाचिरहे।
बिहे गर्नेको परिवार पनि त्यति शान्ति र सुखी चाहि देख्दिन म। कोहि कोहि फेसबुकभरि माया प्रीतिको फोटो राख्छन् तर थाहा छ मलाई उनीहरु वास्तविक जीवन कसरि बाचेका छन्। मलाई मेरा कतिपय साथीहरुको बैबाहिक जीवन देखेर त ठिट लाग्छ, जो जीवनलाई पूर्ण ठान्छन् खालि समाजलाई देखाउनलाई। आफुलाई श्रीमान र श्रीमतीको संज्ञा दिन्छन् मान्छे र समाजलाई देखाउनलाइ। यसरि अरुलाई देखाउनको लागि नै सम्झौता चाहि किन गर्नु पर्ने, आफु खुसि नभई नभई अरुको निम्ति किन बाच्नु पर्ने, तिनीहरुको जीवन भन्दा त् हजारौ गुणा मेरो जीवन नै रमाइलो लाग्छ, घमाइलो लाग्छ। कतिपय साथीहरु खुलेर आफ्नो मनको कुरा भन्छन्, केटा मान्छेले आफ्नो श्रीमतीलाई कस्तो ब्यबहार गर्छन् उनीहरुको भनाइ बाट पनि प्रस्ट हुन्छ। सायद जीवनमा मैले गरेको निर्णय यहि अर्थमा सत्य लाग्छ मलाई कसैले किन काम वाट ढिलो आइस भनेर सोध्ने छैन, बिदाको दिनमा किन यति धेरै सुतिस भनेर प्रश्न शोधने कोहि छैन।
यसरी आफ्नो स्वतन्त्र जीवन बाच्ने आदत परेपछि मलाई कसै संग सम्झौता गर्दाको जीवन आफुलाई आफै अन्याय गरे जस्तै लाग्छ। मेरी एकजना साथीको श्रीमान मलाई एकदमै स्तर्बन लाग्छ। हरेक कुरा उसकै माथि हुनु पर्ने, उसले गरेको सबै काम राम्रो अरुले जे गरे पनि नराम्रो । मेरो साथी जस्तो सुकै पिडामा पनि फिस्व बनावटी हासो हास्छिन् बनावटी यो अर्थमा भन्दै छु, उनि आफ्नो परवारको खुसीको लागि जे पनि गर्छिन्, आफ्नो श्रीमानलाई खुसि राख्नका लागि आफिसवाट पनि दौडदै घर आउछिन तर पनि उनको श्रीमान्को प्रशंसा कहिले सुनेको छैन मैले। यस्तै सम्बन्ध देख्दा लाग्छ मलाई गलत साथीसंग हिंड्नु भन्दा एक्लो जीवन नै हजार गुणा सहि छ।
जीवन कुन अर्थमा सहि कुन अर्थमा गलत त्यो सबैको भरमा छ। जस्तो सुकै अर्थमा जीवन जिए पनि जहाँ खुसि मिल्छ, जहाँ शान्ति मिल्छ त्यहि नै जीवन जिउनुको सहि अर्थ भन्ने लाग्छ। म एक्लै छु त के भो म आफै खुसि छु। भन्नेले भन्दा हुन घमण्डी भयो, केटा पाएन आदि आदि तर मैले मेरो जीवन अरुको लागि, समाजको लागि अनि मान्छेको लागि बाचेको अवस्य होइन। म एक्लो छु, आफै खुसि छु, आफै सुखी छु अनि आफै स्वतन्त्र छु। तर पनि कहिलेकाही यो एक्लोपनले नराम्ररी निमोत्छ, नराम्रोसंग पिरोल्छ, अनि जिस्काउछ आफैलाई आफै संग।
हो कतिपय पारिवारिक जीवनमा सुखी होलान्, कति जना एक्लो जीवनमै सुखी होलान्, खुसि होलान्। मान्छेले यो राम्रो, यो नराम्रो भनेर जसलाई एउटा जज गर्छ नि त्यो भने सारै मन पर्दैन। म किन सिंगल भए अर्थात् परिवार बनाइन त्यो मेरो कुरो हो तर समाजले, मान्छेले औला ठड्याएको पटक्कै मन पर्दैन मलाई। त्यसैले भन्न्छु म बाच्ने सबैको आ आफ्नो तरिका हो , इच्छा हो अनि चाहाना हो। कसरी मन पर्छ त्यसरी नै जिउनु पर्छ, यसो हुनु पर्ने ,त्यसो हुनु पर्ने भनेर अर्कालाई भन्नु भन्दा मेरो के हुनु पर्ने हो त्यसै माथि बिचारेको राम्रो।
म हु एक परित्यक्ता यस अर्थमा कि न त मलाई समाजले, मान्छेले यो भन्ला, त्यो भन्ला भन्ने कुरोमा डर छ न त जीवन अरुको लागि जिउनु नै छ
मेरो जीवन हो, मलाई नै थाहा छ म कसरी बाच्न सक्छु, कसरी हास्न सक्छु अनि जिउन सक्छु। म हजारौ मान्छेको भिडमा पनि एक्लै बाच्न सक्छु, एक्लै जिउन सक्छु, मलाई देखेर नहासे हुन्छ बरु तिम्रो आफ्नो काम गरे राम्रो किनकी म तिम्रो कुराले अलिकति पनि झुक्ने छैन।
समाप्त
Written by Indira Chongbang'
12/19/2020
0 comments:
Post a Comment