Pages - Menu

English

Story

Pages

Saturday, October 17, 2020

बिगतका ती दिनलाई फर्केर हेर्दा ( दंशैं )

स्वदेशमा जब जब दशैँ, तिहार जस्ता चाड आउछन्  तब बिदेशीमनमा संधै त्यहि बालापनको सम्झना र रमाइला  पलहरु दिमागभरि ताजा भएर आइपुग्छ। जहाँ रंगी बिरंगी फूलहरुको बर्षा हुन्थ्यो, घर घरमा नयाँ लुगा लगाउने रहर, घरलाई झिलिमिल्ली  सिगारेको त्यो पल , नयाँ लुगा लगाउदै पिङ्ग खेल्न दौडिएको त्यो समय।  आहा अब त केवल सम्झना बाहेक के नै पो रहर्यो र ।  जब नेपालमा आमालाई फोन गर्छु, आमा भन्नुहुन्छ; " यहाँ त दशैँ आयो नानी, तिमीहरु कसरी मनाउछौ, छुट्टी मिल्छ कि मिल्दैन् होला, कहिले घर आउने ? " यस्तै जिज्ञासा रहेको हुन्छ

Parbati, Pramila, Patma, Indira and Gita at Pokhara


आमाको संधै।   " हामी मनाउछौ  नि आमा, छुट्टी भएको समय मिलाएर भेटघाट गर्छु, चिन्ता नलिनु है  " यस्तै  हुन्छ मेरो जवाफ ।  यहाँ त दशैँ, तिहार जे जस्तो आए पनि  नेपालको जस्तो छुट्टी कहाँ पाउनु ? त्यति धेरै साथीहरु अनि आफन्तहरु संग भेट्ने अवसर कहाँ पाउनु ? हुनत साथीहरु संगको भेटघाट, आफन्त संगको भेटघाट त जहाँ गए पनि भईरहन्छ, तर  खोइ र कहाँ छ छुट्टी ? कहाँ हुन्छ घरलाई बेहुली जस्तै सिगार्ने त्यो जाँगर अनि त्यो घर , कहाँ छ दाजुभाइहरुको दसैँ आयो, तिहार आयो, झिलीमिलि झिल्का, तातो रोटी मिल्का भन्दै घर घरमा नाच्ने गाउने ती रमाइला  लावा लस्करहरु ? छ त केवल मात्र सम्झना। 

गाँउ घरका केटा केटीलाई दशैँ तिहार जतिको रमाइलो पल सयादै अरु कमै छन् । मेरो सम्झना  त स्कुलको १५ दिनको बिदा, घरलाई सबैजना मिलेर  सिंगार गरेर रमाइलो त्यो पल, घरको आँगन भरि फुलै फूलले हराभरा भएको त्यो रमाइलो वातावरण, वरिपरि खेतमा  धान पाकेर  खेतबारी नै सुनौलो   भएको त्यो  क्षण, त्यसैको सुगन्धमा प्रफुल्ल रमिरहेको मेरो गाँउ, अहिले यो दशैँ भन्ने शब्द सुन्ने  बित्तिकै कुटुक्क मन दुख्छ मेरो ।  फेरि म त्यो ठाउँ कहिले पुगिएला, पहिलेका जस्तै  ती रमाइला पलहरुलाई  कहिले अंकमाल गरुला, यस्तै अनगिन्ती प्रश्नहरु खडा हुन्छन् आफैभित्र ।   म सानो छँदा मेरो एकजना साथी थिइन साइनोमा भदैनी,( मिना )।  उनि र म छ महिनाको फरक मा जन्मिएको अरे, हामी दशैको टिका को दिन आ आफ्नो घरमा टिका लगाई सके पछि नजिकको आफन्त कहाँ टिकाको लागि  संगै जान्थेउ  त्यसपछि गाउभरि आ आफ्नो ठुला बढा कहाँ ।   हामी यति आत्मीय थियौ कि   प्राय हरेक ठाउँ संगसंगै जानु पर्ने, संगसंगै खेल्नु पर्ने नत्र त दिन नै खल्लो हुने  ।  हरेक दशैमा हामी टिकाको दिन दिउसो भरि संगै गाउघरमा  टिका लगाउन  साथीहरु संग जान्थेउ , सबैले टिका लगाइदिदै  दक्षिणा दिन्थे  , घरमा आए पछि कसको पैसा कति भयो भन्ने हिसाब किताब हुन्थ्यो ।  ती  क्षणहरु  सम्झिंदा सारै रमाइलो लाग्छ अनि त्यो बालापनको निर्दोषमनहरु सम्झिंदा  हासो पनि लाग्छ। 

हाम्रो गाँउमा लुगा सिलाउने जम्मा दुइ परिवार थिए। दशैताका सबैकोघरमा पालै पालो लुगा सिलाउने दिन हुन्थ्यो।  कहिले बाबा सदरमुकाम गएर हामीलाई रेडिमेड लुगा ल्याइदिनु हुन्थ्यो, तर प्राय जसो एकजनालाई बोकाएर कपडाको थान नै घर आइपुग्थ्यो।  रेडिमेड कपडा सुटुक्क बाबाको ब्यागबाट निस्किंदा हामीलाई सर्प्राइज हुने।  बाबाले पनि मा अलि झिल्कि भएकोले हो कि खोइ दिदीलाई अलि साधारण कलरको भए पनि मेरो चाही अलि रंगिन खालको हुने।  म सानो हुँदा मलाई धेरै बुट्टा भएको अनि अरु भन्दा अलग  डिजाइन भएको लुगा मन पर्ने, हाम्रो लागि लुगा बनाइदिनु हुने दाइले मलाई धेरै माया गर्नु हुन्थ्यो।  म घरकी कान्छी छोरी भएकीले मलाई कसरी खुसि पार्नु  पर्छ उहालाई राम्रो थाहा थियो।  मलाई कस्तो प्रकारको डिजाइन  मन पर्छ भन्ने पनि उहालाई थाहा थियो त्यसैले अरुको भन्दा फरक धेरै  मेहनत गरेर मलाई  लुगा  बनाइदिनु हुन्थ्यो।  भोलि फूलपाती भन्दा आज चाही सबै सिलाई सक्नु पर्ने किन भने फूलपातीको दिनदेखि भने नयाँ  लुगा लगाएर पिङ्ग खेल्न हतार हुन्थ्यो।  त्यसैले कहिले दुइ दिन दिनमा सकिन्थ्यो त कहिले भने हप्ता जस्तै लाग्थ्यो। 


हाम्रो घरको मुनि एउटा ठुलो बरको बोट थियो, त्यहि बोटमा एकताका दशैमा ठुलो पिङ्ग बनेको थियो।  त्यो ठाउमा बजार जस्तै हुन्थ्यो किनकी   गाउघर  मान्छे देखि लिएर टाढा गाँउका मान्छे हरु पनि त्यहाँ  पिङ्ग खेल्न आउथे ।  जो पहिले आयो त्यहि अनुसार  सबैले पालो पर्खिनु पर्ने। म र मेरो साथी सानै   थियौ त्यसैले  आफ्नो पालो कुर्दा कुर्दा नपाए पछि आफु भन्दा ठुलो दिदी  दाजुहरुले सहयोग गर्नु हुन्थ्यो ।  आफु नखेले पनि अरु खेलेको देख्दा रमाइलो लाग्थ्यो।  तर अहिले आएर भने कहाली लागेर आउछ, त्यो बरको बोट मुनि ठुलो खोल्सा छ अनि चट्टान नै चट्टान भरिएको ठाउ छ , कहिँ कोहि त्यो पिङ्ग माथि पुगेको बेला झरेको भए ? ओहो अहिले पो तिरिङ्ग हुन्छु , धन्न त्यो समयमा कसैलाई केहि भएन।  सबै जना रमाए।  कोहि कोहि त कसले माथि पुर्याउने भनेर बाजी पनि खेल्थे आफु भने त्यो समयमा अलि  हिम्मत थिएन, पालो आए पछि  सुइय हुर्रिने, आकाशमा पुगेको रमाइलो महसुश गर्ने  अनि अन्य  समय अरु मच्चिएको हेरेर रमाइलो गर्ने बाहेक। 

तिहारको रमाइलो बेग्लै हुन्थ्यो।  कुकुर तिहार देखि घरमा माला बनाउनु सुरु गर्नु पर्ने।  घरमा भएको सबै भाडा कुड़ाको लागि पनि माला  बनाउनु पर्ने।  गाइ, गोरु, मान्छे देखि लिएर सबै झ्याल, ढोकाको सबैको लागि थरिथरिको माला बनाउदा कम्ति मज्जा आउँदैन  थियो। आफ्नो  गाँउघर देखि लिएर टाढा टाढा गाँउ घरबाट पनि देउसी भैलोको  नाचगान  घर घरमा झिलिमिली बत्ति बालेर आउंथे, रमाइला गीत  संगीतको धुनमा नाचगान गर्थे अन्तिममा नाग्लोमा सेलरोटी, पैसा अनि अरु केहि सिदा राखे पछि  आशिर्बाद दिन्थे कम्ता रमाइलो हुन्न थियो ती आशिर्बादको गीतहरु सुन्न ।  नाचगानको रमाइलो त बेग्लै थियो देउसी आउनेको रमाइलो अर्कै ।  हाम्रो गाँउमा एकजना गिताराम भन्ने दाइ देउसी खेल्ने समयमा सारै राम्रो कथा भन्नु हुन्थ्यो।   अहिले सम्म मेरो दिमागमा त्यो ताजै छ, त्यो देउसी गीतको तालमा गाएको  गीति कथा घरको कौसीमा बसेर सुनेको पल हिजो जस्तै लाग्छ, आफ्नो घरमा सकिए पछि फेरि अर्को घरमा पनि गएर सुनु जस्तै लागेको थियो । मैले आमालाई भनेकी पनि थिए फेरि उहाहरुलाई हाम्रो घरमा बोलाउनु मिल्दैन आमा।  आमाले अबो अर्को साल भन्नु भएको थियो म संधै अर्को तिहार पर्खि रहन्थे तर एकदिन उहाहरु संधैको लागि गाँउ छाडेर शहर जानु भयो।  

हाम्रो घरकै छेउमा हाट बजार लाग्थ्यो, अरु समय दिनमा मात्र हुने त्यो हाट  तिहारको समयमा दुइ तिन रात जस्तै लाग्थ्यो । रातमा  भैली खेल्ने, बजार जाने, अनि दाजु भाइको लागि भनेर रंगी चंगी माला रातभर बनाएको  त्यो क्षण अहिले केवल सम्झनामा मात्र सिमित छ।  एक सालको तिहारमा मेरो बाबा कतै टाढा जानु भएको थियो , हाम्रो गाँउमा  एकजना दिदी हुनुहुन्थ्यो मैले नाम चाहि बिर्सिए, त्यो दिदीले कर गरेर आमाले एक रात हामी तिन जना छोरा छोरी  लिएर राति बजार जानु भएको थियो।  त्यो दिदी चाही गित गाउनु र भैलिनी खेल्नुमा सारै अब्बल, मेरो आमा पनि अलि अलि सहयोग गर्नु हुन्थ्यो हामी सबै केटा केटि सुनेर मक्ख।  सुनेर  रमाइलो हुँदै थियो तर राति म कतिखेर निदाए थाहा भएन बिहान बिउझिंदा आफ्नै ओछ्यानमा सुतिरहेको थिए। समय यस्तै रमाइलो, उकाली ओराली हुन्थ्यो तर दशैँ र तिहारको समयमा रमाइला पल बाहेक अरु कुनै अप्रिय घटनाको सम्झना छैन। 


अलि ठुलो भए पछि पढ्नको लागि शहर पसियो , त्यो गाँउघरको  रमाइलो पलहरु सम्झनामा सिमित रह्यो।  जतिसुकै रमाइलो भए पनि अहिले ती  समयहरु धेरै टाढा भईसकेका छन् मात्र छ सम्झना हरु।   अहिले सम्झिंदा त्यो समयमा पनि गरिब र दुखिलाइ अति नै दुख परेको  रहेछ।  त्यतिमात्र होइन राज्यको शाशकहरुले जबर्जस्ति दशैँ मनाउन पनि लगाएका रहेछन् । देशलाई हिन्दु देशको एकल देश बनाएर अन्य धर्मवालाम्बी माथि अत्याचार भएको रहेछ।   मार हानेर सबैको घरमा रगतको छाप हुनु पर्ने नत्र त्यसलाई अस्विकार गर्नेलाइ त्यो समयको सरकारले कारबाही गर्ने प्रचलन थिएछ।  यो बुझे पछि केटाकेटीपनमा भएको खुसिमा तुसारापात छायो।  आफ्नै देशमा पनि एक जातीय र एक धर्मको अरु माथि गर्ने दमन र सड्यन्त्रकारी ब्यबहारले मन कटक्क पोल्छ।   त्यति मात्र होइन चाडबाड मनाउने नाममा अरु निर्दोष प्राणीको हत्या गरेर, धर्मको नाममा मार हान्ने परम्परा पनि अत्यन्त नाजायज लाग्छ।  आफु खुशी  हुनुको लागि निर्दोष प्राणीको हत्या गर्नु पर्ने, अरुको ज्यान लिएर आफु खुसि हुनु पर्ने यी प्रब्रिदिले चाँही  सारै मन दुख्छ ।  चाड मनाउनु, सुखी हुनु र रमाउनुको लागि हत्या हिम्सा गरेर मात्र होइन, तडक भडक  गरेर मात्र, महंगा सामग्रीको प्रयोग गरेर मात्र  होइन सामान्य रुपमा आफु संग जे छ त्यसैमा रमाउन पनि सकिन्छ।  चाडको नाममा आफु संग नभए पनि ठुलो हुनु पर्ने, देखाउनु पर्ने, राम्रै लाउनु पर्ने, खानु पर्ने जस्ता देखाशेखिका  प्रब्रिदिले कतिपयलाई हुन् सम्म को पिडा पनि छ।  त्यसैले म त भन्छु, घाटी हेरेर हाड निलौ , दशैँ भन्दै दशा लाइ निम्तो नगरौ। आफु संग जे छ जस्तो छ त्यसैमा रम्न सिकौ।  आफु पनि रमाउ, अरुलाई पनि रम्न देऔ।  

समाप्त 

Written by

Indira Chongbang

10/17/2020











1 comment:

  1. लेख राम्रो लाग्यो। मेरो बालापनको याद दिलायो यो लेखले।पशुबली पाप होल

    ReplyDelete